अमेरिकाले चरमपन्थी संगठन तहरीक ए तालिबान पाकिस्तान अर्थात टीटीपीका नेता मौलाना फजुल्लाहमाथि ५० लाख डलर झण्डै ५० करोड रुपैयाँको इनाम राखेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ताका अनुसार फजुल्लाहका अलावा अब्दुल वली र मंगल बाघको बारेमा जानकारी दिनेलाई पनि तीस–तीस करोडको इनाम राखेको छ ।

अमेरिकी विदेश विभागले न्यायका लागि इनाम(आरएफजे) अन्तरगत यो पुरस्कारको घोषणा गरेको हो ।

घोषणाका अनुसार यी चरमपन्थीहरुको बारेमा जानकारी दिने र उनीहरुको ठेगाना बताइदिने व्यक्तिलाई यो पुरस्कारको व्यवस्था गरिएको छ । पाकिस्तानका शीर्ष राजनीतिज्ञ तथा विदेश सचिव तहमीना जंजुवाको दुई दिने अमेरिका भ्रमणकै समयमा अमेरिकाले यस्तो घोषणा गरेको हो । हालसालै अमेरिकाले उसको सहयोगी देशसँग पेरिसमा भएको फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकमा पाकिस्तानलाई आतंकवादी संगठनलाई आर्थिक सहयोग गर्ने देशको सूचीमा सामेल गरेको थियो ।

अमेरिकाको यो निर्णपछि अमेरिका भ्रमण गर्ने जंजुआ पाकिस्तानकी वरिष्ठ राजनीतिज्ञ हुन् ।

को हुन् यी जसमाथि अमेरिकाले करोडौं इनाम राखेको छ ? मौलाना फजुल्लाह मौलाना फजुल्लाहलाई सन् २०१३ मा तहरीक ए तालिबान पाकिस्तानको प्रमुख नियुक्त गरिएको थियो । फजुल्लाहलाई १६ डिसेम्बर २०१४ मा पेशावरको सैनिक स्कुलमा भएको हमलाको मास्टरमाइन्ड मानिन्छ । यो हमलामा १३१ छात्रासहित १५१ जनाको ज्यान गएको थियो ।

यसका अलावा फजुल्लाहलाई सन् २००२ जुनमा १७ जना सैनिकको शीर काटेको आरोप लागेको थियो । त्यस्तै नोबेल पुरस्कार विजेता मलाला यूसुफजाईमाथिको आक्रमणका लागि पनि दोषी मानिन्छ ।

अब्दुल वली अब्दुल वली चरमपन्थी संगठन जमात उल अहरार(जेयूए) का प्रमुख हुन् । जेयूए तहरीक ए तालिबान पाकिस्तानबाट अलग भएको चरमपन्थी संगठन हो । यो समूह पाकिस्तानको पञ्जाब प्रान्तमा सक्रिय रहेको छ । वलीले पाकिस्तानमा भएका कैयौँ आत्मघाती आक्रमणको जिम्मेवारी लिएका छन् ।

सन् २०१६ को मार्चमा लाहोरमा भएको आत्मघाती आक्रमणमा अब्दुल वलीको हात रहेको बताइन्छ । यो हमलामा ७५ जनाको ज्यान गएको थियो भने ३४० जनाभन्दा बढी घाइते भएका थिए । जेयूए पाकिस्तानको छिमेकी देश अफगानिस्ताबाट सक्रिय रहेको छ ।

मंगल बाघ अमेरिकाले आफ्नो सूचीमा चरमपन्थी संगठन लश्कर ए इस्लामका प्रमुख मंगल बाघलाई समेत राखेको छ । लश्कर ए इस्लाम पनि तहरीक ए तालिबान पाकिस्तानबाट नै अलग भएको एउटा हिस्सा हो । यो मुख्य रुपमा अफगानिस्तानमा तैनाथ भएका नेटोका सैन्य क्याम्प वरपर सक्रिय रहेको छ ।

सन् २००७ मै पाकिस्तान सरकारले पनि मंगल बाघमाथि इनामको घोषणा गरिसकेको छ । पाकिस्तान सरकारले मंगल बाघका बारेमा सूचना दिने तथा उनको गिरफ्तारीमा सघाउने व्यक्तिलाई ६० लाख रुपैयाँको पुरस्कार घोषणा गरेको थियो ।

यसका अलावा अमेरिकी विदेश विभागले मध्यपूर्वका कैयौँ चरमपन्थी संगठनका प्रमुखहरुमाथि पनि पुरस्कारको घोषणा गरेको छ र अमेरिकी विदेश विभागले यस्ता संगठन आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरापूर्ण रहेको बताएको छ ।

अमेरिकाले स्पष्ट रुपमा भनेको छ कि तहरीक ए तालिबान पाकिस्तानविरुद्ध कडा रुपमा उत्रनु पर्नुको मुख्य कारण अफगानिस्तानमा रहेको अमेरिकी सेनाको टुकडीमाथिको आक्रमण हो । साथै अमेरिकी भूभागमै पनि आतंकवादी संगठनले ठूलो आक्रमणको षड्यन्त्र रचिरहेको अमेरिकाको आरोप छ ।