काठमाडौं सरकारले गरेको अध्ययनले प्रदेश १ जलविद्युत् उत्पादनमा सबैभन्दा बलियो देखिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९८७ मेगावाट देखिएकोमा त्यसमध्ये प्रदेश १ मा सबैभन्दा बढी देखिएको हो । पाँच हजार मिटरभन्दा साना र चुरे क्षेत्रमाथिका १३ नदी बेसिनमा क्यु–४० लाई आधार मानेर गरिएको अध्ययनको आधारमा सबैभन्दा बढी उत्पादन क्षमता प्रदेश १ र सबैभन्दा कम प्रदेश २ मा देखिएको छ। परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटल गरेको कुल जलविद्युत् क्षमता र बेसिनस्तरको क्षमतालाई आधार मानेर प्रदेशस्तरमा तथ्यांक निकाल्दा यस्तो देखिएको हो । परामर्शदाता कम्पनीमा टाली प्रमुख केपी दुलालले भने, ‘आयोगको कार्यादेशअनुसार नदी बेसिनको आधारमा क्यु–४० मा कुल विद्युत् उत्पादन क्षमताको अध्ययन सकिएको छ, यसको प्रतिवेदन बुझाउन बाँकी छ।’ अध्ययन अनुसार प्रदेश १ को क्षमता २२ हजार ८२० देखिएको छ । सो प्रदेशमा मेची नदीबाट ३५, कन्काईबाट २६९, कोशीबाट २२ हजार ५०४ र कमला नदीबाट ११ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ । प्रदेश २ मा भने सबैभन्दा कम विद्युत् उत्पादत हुने अध्ययनले देखाएको छ । सो प्रदेशको ३४१ मेगावाट उत्पादन क्षमता छ । तथ्यांक अनुसार बागमतीबाट ३३, कमलाबाट २२९, कोशीबाट ७ र वकैया नदीबाट ७२ मेगावाट उत्पादन क्षमता छ ।