काठमाडौं/ जनयुद्ध अघिका शिक्षक अर्थात् जनयुद्धको समैका सबैका सर माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार बसेको संसद बैठकमा प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले महरा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरे । महरालाई सभामुख बनाउन एमाले नेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन बने।

वाम गठबन्धनबाट सभामुखको उम्मेदवार बनेका महरालाई संघीय समाजवादी फोरम र मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले पनि समर्थन गरेका छन् । संसद बैठकमा सम्बोधन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले महराको शालिन व्यक्तित्व र नेपालको शान्ती प्रक्रियामा उनले खेलेको भूमिकाबाट प्रभावित भएर कांग्रेसले समर्थन गरेको बताए ।

सभामुखको शपथ आज हुँदै छ । शपथपछि महराले जिम्मेवारी सम्हाल्ने छन् । सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भए लगत्तै पत्रकारसित कुरा गर्दै महराले संसदलाई नागरिकको समस्या सुन्ने थलोका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।

को हुन् महरा

प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर २ बाट विजयी महराको जन्म २०१५ असार १५ मा रोल्पाको लिवाङ ७ धारापानीमा भएको हो । स्नातक पास गरेका महरालाई झण्डै दशक बढीको शिक्षण अनुभव छ । माओवादी शान्ति प्रक्रियामा आए पछि सात पटक सरकारमा सहभागी भएकोमा महरा ५ पटक मन्त्री बनिसकेका छन्।

दुई पटक त उनी उपप्रधानमन्त्री नै भइसकेका छन् । माओवादीमा धेरै अवसर पाउनेमा महरा पहिलो नम्बरमा छन् । यसले गर्दा कतिपयले उनको चर्को आलोचना गर्छन् । माओवादी द्वन्द्व सुरु भएदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रियपात्र महराले थुप्रै अवसरको पद पाए ।

२०६७ सालमा माओवादीका विदेश विभाग प्रमुख समेत रहेका महराले चीनसँग सांसद किनबेचका लागि ५० करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो । तर पछि महरा र चिनियाँ पक्षले यो अडियोको खण्डन गरेका थिए । यस्तै गतवर्षमात्र गृहमन्त्री रहेका बेला महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन अवैध रुपमा छुटाउनमा संलग्न रहेको आरोप पनि छ ।

सुन काण्डमा उनीमाथि लागेको आरोप पुष्टि नभए पनि विशिष्ट व्यक्तिहरु संलग्नता रहेको कारण ३३ किलो सुन ल्याउने मुख्य दोषीलाई कारवाही गर्न नसकिएको प्रहरीले जनाउँदै आएको छ ।