विराटनगर/ पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा नेपाल आयल निगमले लक प्रणाली लागू गर्ने भएको छ । ट्यांकर लक गर्ने प्रणाली नेपालमा पहिलोपल्ट भित्र्याउन लागिएको निगमले जनाएको छ  ।

आगामी मंगलबारदेखि यो प्रणाली मेचीबाट सुरु हुने निगमले जनाएको छ । लामो प्रयासपछि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा लक प्रणाली सुरु हुन लागेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

शनिबार विराटनगरमा पेट्रोलियम डिलर्स एसोसिएसन कोसीकोे १५औं वार्षिक साधारणसभामा प्रमुख खनालले ढुवानीका क्रममा बाटोमा हुने पेट्रोलियम पदार्थको चुहावट तथा मिसावट रोक्न ट्यांकर लक गर्न लागिएको बताए ।

पहिलो चरणमा भारतको सिलिगुडीबाट काँकडभिट्टा नाकासम्म आइपुग्ने ५९ वटा ट्यांकरमा लक गरिने समेत उनले जानकारी दिए । त्यसपछि क्रमशः मुलुकभरमा सन्चालनमा रहेका पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा लक प्रणाली लागू गर्ने उनले बताए ।