विजयपुर/धरानमा फोहोरबाट बैकल्पीक उर्जा उत्पादन हुने भएको छ । धरान उपमहानगरपालिका,नेपाल सरकार बैकल्पीक उर्जा प्रबर्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जीले नेपालमै पहिलो पटक धरानमा एनारोविक डिजेस्टेसन प्रबिधिबाट उर्जा उत्पादन गर्न लागेको हो ।

आयोजना सञ्चालन गर्न त्रिपक्षिय सम्झौता समेत भई सकेको छ । उपमहानगरपालिकाका शुन्य लगानीमा सञ्चालन हुने योजनाका लागि भेन्चर वेष्ट टु एनर्जीले धरान ६ स्थित पानबारीमा १६ कठ्ठा जग्गा समेत खरिद गरेको छ ।करिब २४ करोड लगानीमा सञ्चालन हुन लागेको आयोजना २० बर्षपछि धरान उपमहानगरपालिकाको पुर्ण स्वामित्वमा आउने सम्झौता भएको छ ।

धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाले धरानको फोहोरबाट वैकल्पीक उर्जा उत्पादन गरि फोहोरलाईपनि आयश्रोत बनाउने योजना अनुसार कार्य अगाडि बढेको बताए ।उनले धरानमा उत्पादन हुने जैबिक फोहोरबाट बैकल्पीक उर्जा,मल उत्पादन गर्ने र अन्य फोहोरलाई दिर्घकालिन ब्यबस्थापन गर्ने बताए ।

अहिले धरानमा उत्पादन हुने फोहोरको ८० प्रतिसत जैबिक फोहोर छ जसलाई बैकल्पीक उर्जामा प्रयोग गर्न सकिन्छ,बाकी २० प्रतिसत फोहोरलाई पुर्नप्रयोग गर्न मिल्दैन हामी त्यसकोपनि ब्यबस्थापन गर्न बिकल्प निकाल्छौ मेयर सुब्बाले भने ।

आईतबार धरानमा पत्रकार सम्मेलनमा बोल्दै मेयर सुब्बाले धरानलाई सफा र सुन्दर सशरको रुपमा स्थापित गर्दै संबृद्ध नगर बनाउने नितीमा आफुहरु अगाडी बढेको बताए । पत्रकार सम्मेलनमा बोल्दै भेन्चर वेष्ट टु इनर्जी प्रालीका अध्यक्ष जेनेस श्रेष्ठले अब केही महिना भित्रै धरानमा आफुहरुले काम थाल्ने बताए ।

‘हामीले नेपालमै पहिलो पटक एनारोविक डिजेस्टेसन प्रबिधिबाट उर्जा उत्पादन गर्न लागेका छौ,यसमा उपमहानगरको आर्थिक सहभागिता छैन,हामीले नै लगानी गर्नेछौ’ श्रेष्ठले भने । ‘अधिकतम ५ बर्ष सम्म धरान उपमहानगरपालिकाले फोहोर उठाइदिने र त्यसपछि हामीले आफै फोहोर उठाउने सहमती भएको छ श्रेष्ठले भने ‘हामीले फोहोरबाट जति आम्दानी गर्छौ त्यसको एक प्रतिसत रोयल्टी उपमहानगरलाई बुझाउछौ ।

धरानमा अहिले दैनिक २२ मेट्रिकटन फोहोर उत्पादन भई रहेको छ । यो फोहोरबाट हामी धरानको माग धान्न सक्नेगरि ग्याँस उत्पादन गर्न प्रयासरत रहेका छौ भेन्चरका अध्यक्ष श्रेष्ठले भने ‘हामी दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गर्ने उदेश्यमा छौ ।उनले फोहोरबाट ग्याँस,विजुली,मल उत्पादन गरेर बिक्रि गरिने जानकारी दिए ।

‘हामीले उत्पादन गरेको ग्याँस अहिले बजारमा पाईने एलपी ग्याँस भन्दा झण्डै २ सय रुपैया सम्म सस्तो पर्न जान्छ उनले भने ‘हामी यो एक बर्ष भित्रमै ग्याँस र विजुली उत्पादन गर्ने लक्ष्यमा छौ ।

धरान उपमहानगरपालिका र भेन्चर बिच भएको सहमतिमा प्लान्ट स्थापनाको बर्ष फोहोर ढुवानी धरान उपमहानगरपालिकाकाले गर्ने र दोश्रो बर्ष देखि पाँच बर्ष भित्रमा घट्दो क्रममा फोहोर ढुवानी गर्ने,प्रसोधन गरेर बाकी रहेको फोहोरकोलाई उपमहानगरपालिकाले गर्ने,२० बर्षको अवधि पछि आयोजनाको स्वामित्व लिएर सञ्चालन गर्ने र नगरको वातावरणीय,सामाजिक तथा आकस्मिक सवालमा नेतृत्वदायी भुमिका खेल्ने सर्त उल्लेख छ ।

भेन्चर वेष्ट टु इनर्जीले आयोजनाको जग्गा प्राप्ती गर्ने,सम्झौता भएको एक बर्ष भित्रमा बित्तिय ब्यबस्थापन गर्दै उपकरण जडान गरि प्रसोधन सुरु गर्ने,२० बर्षपछि जग्गा र उपकरण चालु अबस्थामै धरान उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने तथा आयोजनाको वातावरणीय प्रभावको मुल्याङकन लगायतका प्राबिधिक कार्य गर्ने सर्त उल्लेख छ ।

सम्झौतामा नेपाल सरकार बैकल्पीक उर्जा प्रबर्धन केन्द्रले आयोजनाको प्राबिधिक मुल्याङकन र रेखदेख गर्ने,आयोजनाको ग्याँसको उत्पादनका आधारमा सहुलियत अनुदान दिने र आयोजनाको नितीगत ब्यबस्थाको जिम्मेवारी बहन गर्ने सर्त उल्लेख छ ।

विस २०६८ सालमा नेपाल सरकारले गरेको अध्यन अनुसार नेपालमा बार्षिक ५३ लाख मेट्रिकटन शहरी फोहोर उत्पादन हुने गरेको छ । उक्त फोहोरबाट ११ लाख एलपीजी ग्याँसका सिलिण्डर प्रतिस्थापन गर्न सकिने बताईएको छ ।

धरानमा राख्न लागिएको प्लान्टबाट देनिक ३० मेट्रिकटन दैनिक फोहोरको प्रसोधन गर्न सक्छ ।यसरी उत्पादन गरिएको उर्जा वातावरणमैत्री हुने भेन्चर वेस्ट टु इनर्जीले जनाएको छ ।धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले यो आयोजनामा धरान उपमहानगरपालिकाले कुनैपनि जेखिम लिनु पर्ने अबस्था नरहेको बताए ।

पाँचबर्ष भित्रमा धरान उपमहानगरपालिकाकाले फोहोर ब्यबस्थापनमा गर्दै आएको खर्च जोगिने छ । हाल धरान उपमहानगरपालिकाले बर्षिक करिब १ करोड २५ लाख रुपैया फोहोर ब्यबस्थापनमा खर्च गर्दै आएको छ ।

जनप्रतिनिधि आएपछि फोहोर ब्यबस्थापनमा भएको यो नयाँ कार्य हो । आईतबार होटल इजी राईडर्समा आयोजीत पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदी,धरानका पुर्व मेयर मनोजकुमार मेन्याङबो,धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ तथा धरानका बिभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।