सिरहा/ प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको निष्पक्ष सेवा गर्न प्रहरीले नियत सुधार्न आवश्यक रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनताप्रतिको निष्पक्ष सेवाभाव र सेवाग्राहीप्रतिको सभ्य व्यवहारलाई मूल मन्त्र मानेर काम गर्न निर्देशन पनि दिए। ‘संगठनभित्र आफूभन्दा माथिको हाकिम र नेतालाई खुसी पारे जे पनि गर्न सकिन्छ भन्ने कुरा त्याग्न आवश्यक छ’, महानिरीक्षक अर्यालले भने, ‘सीमित व्यक्तिको स्वार्थपूर्तिभन्दा आमजनताका लागि काम गरेर प्रहरीले आफूलाई कल्याणकारी प्रवृतिका रूपमा उभ्याउन आवश्यक छ।’

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले पहिले प्रहरी निकाय ‘थ्रीपी’ अर्थात् पब्लिक (जनता), पुलिस (प्रहरी) तथा पार्टिसिपेसन (सहभागिता) को अवधारणामा चले पनि अहिले थप थ्रीपी अर्थात् पोलिटिसिएसन (राजनीतिकर्मी), प्रेस (सञ्चारकर्मी) र प्रोसिक्युटर (कानुन व्यवसायी) थपिएको बताए। ‘यी कुनै पनि अंगबिना प्रहरी निकाय अगाडि बढ्न सक्दैन’, प्रहरी अतिरिक्त महानिरीक्षक कायस्थले भने, ‘त्यसैले प्रत्येक प्रहरी इकाइका अगुवाले यी ६ वटै सरोकारवाला निकायलाई साथ लिएर हिँड्नुपर्छ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार अन्तर्राष्ट्रिय दातृ निकाय ‘डिएफआइडी’को सहयोगमा ९ करोड ६० लाख १७ हजार १ सय ९९ रुपैयाँमा निर्मित भवन उपत्यकाबाहिर रहेकामध्ये देशकै सबभन्दा भव्य र आधुनिक भवन रहेको बताए। आठ रिक्टर स्केलको भूकम्प प्रतिरोध गर्न सक्ने क्षमता भएको भवन निर्माण गरिएको उनको भनाइ छ। भवनमा शारीरिक रूपमा अशक्त तथा मानवअधिकारमैत्री, पुरुष तथा महिला हिरासत कक्ष, बालबालिकालाई राख्नुपरेको अवस्थामा विशेष कक्षको व्यवस्थाका साथै कार्यालयको प्रशासनिक भवन, आवास भवन र छुट्टाछुट्टै भान्सा घरसमेत रहेको छ।