विराटनगर/ प्रदेश १ को जल पर्यटन ओझेलमा परेको छ। उचित प्रचारप्रसार नहुँदा प्रदेश नम्बर १ मा जल पर्यटन आझेलमा परेको व्यवसायीले औल्याएका छन्। पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आए पनि सरकारले पूर्वी क्षेत्रका तमोर, अरुण, सुनकोसीलगायत नदीस्थित जल पर्यटन सम्भाव्यता पहिल्याउन नसकेको गुनासो रहँदै आएको छ।

‘हामीले राज्यको प्रक्रिया पूरा गरेर लाखौं लगानी गरिसकेका छौं’, इटहरीस्थित रिभर डिप र्यार्फ्टङका सञ्चालक सुरेश बस्नेतले भने, ‘सरकारको स्पष्ट नीति र प्रचारको अभावमा सम्भावना बोकेका खोला खेर गइरहेका छन्।’ उनले आन्तरिक पर्यटनले धानेको यो व्यवसायमा विदेशीलाई आकर्षित गर्न स्पष्ट योजना बनाउनु पर्ने बताए। ‘छिमेकी मुलुक भारतका नागरिकलाई मात्र केन्द्रित गरी प्रचारप्रसारमा सहयोग गरिदिए हामी जति पनि लगानी गर्न तयार छौँ’, उनले भने। बस्नेतले प्रदेश १ को सरकारले समृद्धिका योजनाभित्र पर्यटनलाई पनि समावेश गरेको हुनाले केही आशा पलाएको उल्लेख गरे। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिका लागि कृषिपछि पर्यटनलाई प्राथमिकतामा राखेको सार्वजनिक रूपमा बताउँदै आएका छन्।

वर्षाको मौसमबाहेक यस क्षेत्रका खोलामा निजी क्षेत्रको पहलमा र्‍याफ्टिङ सञ्चालन हुँदै आएको छ। निजी व्यवसायीले विदेशी तथा स्वदेशी पर्यटकलाई फाट्टफुट्ट र्‍याफ्टिङ गराउँदै आए पनि त्यसले व्यावसायिकता पाउन सकेको छैन। यस क्षेत्रमा ठूलो लगानी गरेर आउन चाहनेहरू पनि लगानी सुनिश्चितताको ग्यारेन्टी पर्खिरहेका छन्।

पर्यटन व्यवसायी सतिश पोख्रेलले प्रदेशका प्राकृतिक सौन्दर्यलाई बेच्न प्रचारप्रसारको आवश्यकता रहेको औल्याएका छन्। ‘प्रचारप्रसारको कमीका कारण राज्यले प्राप्त गर्न सक्ने ठूलो धनराशी गुमिरहेको छ’, उनले भने।

छिमेकी मुलुकका नागरिकलाई यस खेलबारे व्यवसायीले बुझाउन सके दिनहुँ लाखौं राजस्व उठाउन सकिने बस्नेत बताउँछन्। तर अहिलेसम्म न त केन्द्रीय सरकारले कुनै ठोस योजना बनाएको छ, न त प्रदेश सरकारले नै। मुलुकको समृद्धिका लागि प्रकृतिले दिएको सौन्दर्यलाइ बेच्न राज्य तयार हुनुपर्ने व्यवसायीको तर्क छ।

हिउँदमा र्‍याफ्टिङ सुरु भएको छ। पूर्वको तमोर, अरुण र सुनसरीमा एकदिनेरदुईदिने र एक हप्ताको र्‍याफ्टिङ प्याकेजको आनन्द लिन सकिन्छ। विश्वका उत्कृष्ट तीन नदीभित्र पर्न सफल तमोर धेरैको रोजाइमा रहेको छ। यहाँ माथिल्लो तमोरदेखि सुनसरीको चतरासम्म पाँच दिनको समय लाग्छ भने धनकुटाको वि श्रान्तीघाटदेखि चतरासम्म एकरदुई दिनको समयमा र्‍याफ्टिङ गर्न सकिन्छ। त्यस्तै अरुण नदीमा संखुवासभाको तुम्लिङटारदेखि चतरा र सुनकोसी नदीमा खोटाङको हर्कपुरदेखि चतरासम्मको जलयात्राको मज्जा लिन सकिन्छ।

‘साहसिक यात्रा भएर पनि तीन नदीमा भरपुर आनन्द लिन सकिन्छ’, र्‍याफ्टिङको अनुभव लिएका धरानका उत्तम खत्रीले भने, ‘थोरै जोखिममा अधिक आनन्द लिन सकिने यो क्षेत्रको प्रचारमै जोड दिनुपर्ने देखियो।’

मुलुकको राजनीतिले फड्को मारेसँगै आर्थिक क्षेत्रले पनि फड्को मार्नु पर्ने उनले बताए। उनले भने, ‘पर्यटनको सम्भाव्य क्षेत्रलाई उजागर गर्दै समृद्धिको यात्रा तय गर्नुको विकल्प देखिन्न।’