डोटी/ कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनाको बिरोधमा एमाले निकट विद्यार्थी संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्ड मंगलबार बिहानैबाट अबरुद्ध गरेका छन् ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी बिनोद घिमिरेका अनुसार यातायात बजार अबरुद्ध पारेका छन् । उनीहरुले नगरपालिकाको कामकाज समेत अनिश्चित कालका लागि अबरुद्ध पारेको एसपी घिमिरेले जानकारी दिए ।

घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि सोमबार साँझ ८ बजेर १० अज्ञात समूहले गोली प्रहार गरेको थियो ।उनीहरुले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । एसपी घिमिरे आफै घटनास्थलमा खटिएका छन् ।

मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से२प ३६७१ नम्बरको मोटरसाइकल फेला परेको छ ।

घटनामा संलग्न भएको आरोपमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सुख्खड बजार आसपासबाट पक्राउ गरिएको प्रहरीले भनाइ छ ।

घाइते चौधरीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउको कम्मरमा गोली लागेको छ ।

मेयर चौधरीमाथि खुकुरी प्रहार समेत भएको प्रहरीले जानकारी दिएको छ । चौधरी सुख्खड बजार नजिक आफ्नो घरमा बसिरहेको बेला नचिनेका मान्छेहरुको समुहले काम छ भन्दै घर बाहिर लगेर गोली र खुकुरी प्रहार गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।

कैलाली घोडाघोडी नगरपालिका-५ देउकलीयाकी युवती राधा चौधरीमाथि कथित बोक्सीको आरोपमा कुटपिट भएको घटनामा नगरप्रमुख चौधरीले मिलापत्र गराएको भन्दै यसअघि सर्बत्र बिरोध भएको थियो ।

अालाइनखबरबाट