डाक्टर बनेर गाउँलेको सेवा गर्ने पूर्णिमाको सानैदेखिको सपना थियो । त्यही सपना साकार पार्न उनी एमबीबीएस पढ्न २०६९ सालमा बंगलादेश गएकी थिइन् । तर, सोमबार भएको विमान दुर्घटनासँगै उनको त्यो सपना सदाका लागि ढल्न पुगेको छ । उनको परिवार र गाउँले सबै उनले डाक्टर भएर देशको सेवा गरेको हेर्न चाहन्थे । तर, दुर्घटनासँगै उनीहरूको सपना पनि अधुरै रहन पुगेको छ ।

उनी पाँच वर्षे डाक्टरी कोर्स पूरा गरेर सोमबार स्वदेश फर्कंदै थिइन् । तर दुर्भाग्य  त्यही दिन उनका लागि जीवनको अन्तिम दिन बन्न पुग्यो । उनी बंगलादेशबाट यूएस–बंगला एयरलाइन्सको विमानबाट काठमाडौं आउँदै थिइन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेर उनको इहलीला समाप्त हुन पुग्यो ।

उक्त घटनाका कारण यतिबेला लमजुङवासी शोकमा डुबेका छन्, छाँगाबाट खसेझैं भएका छन् परिवारजन । बेंसीसहर नगरपालिका–१ ठूलो घिमिरेकी हुन् पूर्णिमा लोहनी । उनी भर्खर २३ वर्षकी मात्र भएकी थिइन् । उनका बाबाआमा र दुई बहिनी छन् । यतिबेला पूर्णिमाको परिवार काठमाडौंमा रहेको बताइएको छ ।

उनको शव लमजुङ ल्याउने कि काठमाडौंमै अन्त्येष्टि गर्ने भनेर बुझ्ने प्रयास भइरहेको छिमेकी विशाल लोहनीले बताए । उनले भने, ‘यस घटनाले हामी सबैलाई निकै दुःखी बनाएको छ । उनी वर्षैपिच्छे घर आउँथिइन्, वान्थिन् । तर, यसपटक पढाइ पूरा गरी घर फर्किंदै गरेको स्थानीय लोहनीको भनाइ छ ।