मोरङ/ नेपालका ख्यातिप्राप्त केशसज्जाकार नील डेविड कटुवालको सैलुन अभियानको ५४ औं शाखाका रुपमा मोरङको पथरीशनिश्चरेस्थित पथरी वजारमा सैलुन खडा भएको छ ।

डेविडको इन्टरनेशनल युनिसेक्स सैलुन अन्तर्गत पथरी शाखाको पथरीशनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राई, ख्यातिप्राप्त चलचित्र कलाकार सुनील थापा र डेविडले संयुक्त रुपमा बुधवार उद्घाट्न गरेका छन् । नगरप्रमुख राईले नगर क्षेत्रको विकासका लागि डेविडको आधुनिक सैलुन पनि एउटा पाटोका रुपमा थपिएको बताए ।

ख्यातिप्राप्त कलाकार थापाले जुनसुकै काम गर्न नलजाउने र त्यसलाई व्यवस्थित गर्ने अवको समय रहेको चर्चा गरे । उर्लाबारीमा समेत सैलुनको शाखा सञ्चालन गरिरहनु भएका प्रकाश थापामार्फत खडा गरिएको पथरी शाखा उद्घाटन् कार्यक्रममा बोल्दै डेविडले समाजले सम्मान नगर्ने सैलुन पेशालाई आफुले सम्मानित बनाएको बताएका छन् ।

हालसम्म नेपाल र भारतमा गरी २० हजार बढीलाई सैलुनको तालिम दिएको र ५ सय बढीलाई शाखाहरुमा रोजगारी दिएको वताउँदै उनले भारतमा १ सय ठाउँमा सैलुन खोल्न सम्झौता भइसकेको समेत जनाए । भारतको गुवाहाटी, इलाहावादमा सैलुन सुरु भइसकेको र अव दिल्ली सहितका स्थानमा सञ्चालनको क्रममा रहेको उल्लेख गरे । ‘म अव सैलुनलाई आधुनिक र सम्मानित व्यवसायका रुपमा सञ्चालन गर्दै ५ हजार मानिसहरुलाई आफ्नै शाखाबाट रोजगारी दिने लक्ष्य बनाएको छु ।’– हँसिलो वोलीका साथ उनले भने ।