काठमाडौं/भारतको चर्चित मिडिया कम्पनी हिन्दूस्तान टाइम्स संचालक कम्पनी एच्टी ओभरसिजले सामाजिक संजाल सगुनमा ५० लाख डलर (करिव ५० करोड रुपैयाँ) लगानी गर्ने जनाएको छ ।

यस सम्बन्धी सम्झौतामा सगुन र एचटी ओभरसिज (एचटी सिंगापुर) बीच सम्झौता भएको छ । यसअघि कम्पनीले सन २०१७ मा गरेको सानो स्तरको प्रारम्भिक शेयर निष्कासनमार्फत ३ हजार लगानीकर्ताले ४८ लाख डलर (करिव ४८ करोड रुपैयाँ) लगानी गरेका थिए ।

अमेरिकामा रहेका नेपालीले स्थापना गरेको सगुनलाई विश्वास गरेर यति ठूलो लगानी जुटेको सम्भवतः पहिलो हो । यति ठूलो लगानीले विश्वब्यापी रुपमा विस्तार हुन सघाउने बिश्वास सगुनले लिएको छ ।

एचटी ओभरसिज भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एचटी मिडिया लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो ।

सगुन sagoon.com/invest  ले अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ निस्कासन गरेको छ । त्यही आइपिओमा एचटी ओभरसिजले लगानी गरेको हो ।

फेसुबक, ट्वीटर, स्न्यापच्याट लगायतका विशेषता एकै ठाउँ भएको फरक सामजिक संजाल सगुनले केही समययता अन्तराष्ट्रिय संचारमाध्यममा चर्चा बटुलिरहेको छ । त्यस संजालका मास्टरमाइन्ड एक नेपाली गोविन्द गिरी हुन् ।

सगुनका संस्थापक गिरी सगुनमा आफ्ना अनुभव सेयर गर्न र हाम्रा गतिविधिलाई व्यवस्थित गर्न एउटै छानामुनी सबै खालका सुविधा उपलब्ध हुने बताउँछन् । मानिसको अनलाइन आइडेन्टिटीलाई आफ्नो पकेटमै फिट गर्ने उनको लक्ष छ ।

सगुनमा माइ सेक्रेट बक्स, माइ कन्भर्सेसन, माइ कन्ट्याक्ट माइ क्यालेन्डर जस्ता फरक खालका एप्स छन् । तिनले प्रयोगकर्तालाई फरक प्रकारको अनुभूति दिन्छन् ।

अमेरिकाको पेन्टागनमा केही समय काम गरेका गोविन्द आफ्नो प्रोडक्टलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन दिनरात खटिइरहेका छन् । संसारका विभिन्न मुलुकमा यसको प्रबर्धनमा हिँडिरहन्छन् ।

उनी सगुनलाई नेपाली प्रोडक्ट भनेर चिनाउन चाहन्छन् । ‘सगुन’ नाममै नेपालीपन झल्किन्छ । यस्तो एपमा यति ठूलो लगानी जुटेपछि गिरी निकै उत्साहित छन् ।

एचटी सिंगापुरसँगको सम्झौताले सगुनलाई भारतका करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तासम्म पुग्न एचटी मिडियाको स्वामित्वमा रहेका सञ्चार माध्यमले सहयोग गर्नेछन् ।

एचटी मिडियाको प्रकाशनहरुमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट र हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन । यसका अन्य डिजिटल माध्यमका साथै एफ्एम स्टेसनहरु छन् ।

“हामी एचटी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं ।

हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका धेरै प्रयोगकर्ताहरुसम्म पुग्न मद्दत गर्नेछ”, सगुनका संस्थापक गिरीले भने ।

सगुनले यस वर्षकै जनवरीमा एन्ड्रोइड मोबाइल एप सार्वजनिक गरेको थियो । त्यसलगत्तै यति ठूलो लगानी आउन लागेको हो ।

दुई महिनामै उक्त मोवाइल एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको छ । वेब प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ता छन ।

“हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो ।

आम मानिसले सामाजिक सञ्जाल मार्फत कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं ।

यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं, ”, हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने ।

सगुनले सोसल स्मार्ट कार्ड ल्याउन लागेको छ । यस्तो कार्ड यसको नवीन प्रयोग हो । सगुनले सन २०१८ को अन्त्यसम्म बजारमा स्मार्ट कार्ड सुरु गर्ने लक्ष्य लिएको छ ।

यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ । त्यही कुपन देखाएर छुट पाउन सकिन्छ । यसमार्फत आफ्ना प्रियजनहरुलाई उपहारसमेत पठाउन सकिन्छ ।

सगुनले आइओएस प्लेटफर्ममा एप ल्याउन तयारी गरेको छ । सगुनमा ३ हजारभन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी गरेका छन् ।

कम्पनीले सन २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी जम्मा गरेको थियो ।

सेयर किन्न चाहनेहरुको लागि तेस्रो राउड इन्भेन्टमेन्ट गर्न सगुन डटकमरइन्भेस्टमा दिइएको फर्म भरेर लगानी गर्न सक्नेछन् ।