काठमाडौं/उपाधि दावेदार टोलीहरु बार्सिलोना र बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रिक्वार्टरफाइलनको दोस्रो लेगको खेलमा इङ्लिस क्लब चेल्सीलाई ३-० ले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

गएराति घरेलु मैदान नुओ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बेलेले एक गोल गरे ।

बार्सिलोनाको जितसँगै पूर्व विजेता चेल्सी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । यसअघि अन्य इंग्लीश टोलीहरु म्यान्चेष्टर युनाइटेड र टोटनह्याम पनि अन्तिम १६ चरणबाटै बाहिरिसकेका छन् ।

च्याम्पियन्स लिगकै अर्को खेलमा टर्कीको बेसिक्तासलाई हराउँदै जर्मनीको बायर्न म्युनिख पनि क्वाटरफाइनलमा पुगेको छ ।

गएराति टर्कीमा भएको दोस्रो लेगको खेलमा पाहुना टोली बायर्न म्युनिख ३-१ ले विजयी भयो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन थियागो अल्कान्तारा र सान्द्रो वाग्नरले एक–एक गोल गरे । बेसिक्तासका गोखान गोनुलले एक आत्माघाति गोल गरेका थिए ।

पहिलो लेगमा ५-० ले विजयी भएको बायर्न म्युनिख गएरातिको जिपछि समग्रमा ८-१ को फराकिलो परिणाम निकाल्दै क्वाटरफाईनलमा उक्लेको हो ।