उदयपुर/ बजारमा पाइने प्लाष्टिक र आल्मुनियमका भाँडा वर्तनले कुमालेको पेसा संकटमा परेको छ। माटोका भाँडा बनाएर पुस्तौँदेखि जीविकोपार्जन गर्दै आएका उदयपुरका कुमालेहरूको पेसा संकटमा परेको हो।

त्रियुगा नगरपालिका– ११ स्थित जलजले बजारका अमृतलाल कुमालले बजारमा प्लाष्टिकका भाँडाहरूको बढ्दो प्रयोगका कारण आफूहरूको पेसा संकटमा परेको गुनासो गरे। ‘हिजोआज माटोका विभिन्न उपभोग्य भाँडावर्तन प्रयोग हुँदैनन्’, उनले भने, ‘सयौँ वर्षदेखि गर्दै आएको पुख्र्याैली पेसा हराउँदै गएको छ।’

माटोका भाँडावर्तन बनाउने माटोसमेत पाइन छाडेको उनीहरूको गुनासो छ। ‘मेरा बुबाआमाले यही माटोकै भाँडाकुँडा बनाएर पाँच छोरा र चार छोरी हुर्काउनुभयो’, उनले भने, ‘अहिले हामी पाँच दाजुभाइ सबैले यही माटोका भाँडाकुँडा बनाउँदैनौँ, बजारमा बिक्री हुँदैन।’ जताततै सामुदायिक वनबाट माटो ल्याउनसमेत कुमालेहरूले सहज रूपमा नपाउने गरेको र बजारमा समस्या भएकाले अधिकांश कुमालेले पेसा छाड्न थालेको हवरिरी कुमालेले बताए।

‘बाबुबाजेको जीवन गुजारा हुन्थ्यो यो पेसाबाट,’ हवरिरीले भने, ‘अब हुन छाडेको छ, हामी ज्याला मजदुरी गरेर जीवन चलाउन बाध्य छौँ।’ टाढाबाट माटो ढुवानी गर्दा खर्च बढ्ने र मुनाफामा कमी आएकाले यहाँका कुमाले पेसाबाट पलायन भइरहेका छन्। ‘माटोका भाडाँकुडा प्रायजसो रातो माटोबाट बनाउने गरिन्छ, त्यसमा पनि जंगलको रातो माटो भाँडा बनाउन उपयुक्त मानिन्छ’, उनले भने, ‘यो पेसालाई निरन्तरता दिन समस्या नै समस्या छ, त्यसकारण परिवर्तन गर्दै राम्रो हुन्छ।’

माटोबाट हाँडी, घैँटो, रक्सी पार्ने पैनी, खुत्रुके, फूल रोप्ने गमलालगायतका सामग्रीहरू निर्माण गर्दै आएका कुमालेहरू अहिले पेसा छाड्दै गएका छन्। विगत ४० वर्षदेखि उदयपुरका विभिन्न बजारलगायत खोटाङको दिक्तेलसम्म माटोका भाँडा वर्तनले बजार पाउँथ्यो। आजभोलि गाउँघरमा आल्मुनियम र प्लाष्टिकका भाँडाको नै प्रयोग बढी हुने गरेपछि कुमाले  पेसा संकटमा परेको दुर्गादेवी कुमालले बताइन्। ‘कुनै समय घरमै बसेर मनग्ये आम्दानी हुन्थ्यो’, उनले भनिन्, ‘प्लाष्टिकका सामान बढी प्रयोग हुन थालेपछि पैसा पनि आउन छाड्यो, हामीले पेसा पनि परिवर्तन गर्दै जानुपरेको छ।’

माटोका भाँडा छिट्टै फुटेर खेर जाने र त्यसलाई पुनः मर्मत गरी प्रयोगमा ल्याउन नसकिने भएकाले यसको प्रयोग घट्दै गएको स्थानीय उपभोक्ताहरू बताउँछन्। भएको सीप प्रयोग गर्न नपाउँदा आफ्नो रोजीरोटी नै गुमेको स्थानीय कुमालेहरूको गुनासो छ।