काठमाडौं/ सत्तारुढ दल नेकपा एमाले र माओवादीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउने तयारी गरेका छन् ।

न्यायपरिषदले बर्खास्त गरे पनि पराजुलीले फरक रुपमा चल्न खोजेपछि सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेका हुन् ।

न्याय परिषद सचिवालयले उमेर हदको कारण देखाउँदै बर्खास्त गरिएको पत्र थमाएपछि पनि पराजुलीले प्रधानन्यायाधीशकै हैसियतमा न्याय परिषद् बैठक राखेका थिए। उनले आफू निकटका न्यायाधिश र कानुनविदहरुसँग पनि छलफल गरेका थिए ।

त्यसलाई प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका सत्तापक्षका नेताहरुले असन्तुष्टि जनाएका छन् । एमाले र माओवादीबीच भएको छलफलमा पराजुलीले प्रधानन्यायाधीशकै हैसियतमा काम कारबाही अघि बढाए उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालिएको स्रोतले जानकारी दियो ।

‘न्यायालयको गरिमामाथि नै आँच आउने गरी गतिविधि भइरहेका बेला उहाँ बाहिरिनु नै उपयुक्त हुन्छ । न्याय परिषद्ले अवकाश भएको जानकारी दिइसकेपछि पनि प्रधानन्यायाधीशले अरु चलखेल गर्नु बेकार छ । यसले उहाँलाई उल्टै हानी हुन्छ’, स्रोतले भन्यो, ‘त्यसो भयो भने उहाँलाई बाध्य भएर महाअभियोग लगाउनुको विकल्प छैन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको विवादबाट अलग रहन सुझाव दिँदै पराजुलीलाई बिदामा बस्न भनेका छन् । तर, उनले त्यसलाई नमानेको स्रोतले बतायो ।

प्रधानन्यायाधिश पराजुलीले उमेर ढाँटेको विषयमा बुधबार बालुवाटारमा प्रदेश र संघीय सांसदहरुको सम्मानमा दिएको भोजमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बोल्दिन भन्दाभन्दै पनि बोल्नुपर्ने अबस्था सिर्जना भएको बताएका थिए ।