म गायिका हुनुभन्दाअघि खेलाडी थिएँ । एथ्लेटिक्सअन्तर्गत तीनचोटि दक्षिण एसियास्तरीय प्रतियोगितामा समेत सहभागिता जनाएकी छु । मैले राष्ट्रिय स्तरका चारवटा गोल्ड मेडलसमेत जितेकी छु । स्कुल स्तरबाटै खेलकुदमा लगाव राख्ने मैले यीबाहेक फुटबल र भलिबल पनि खेलेँ । भलिबलमा त म फस्र्ट लाइनर स्पाइकर नै थिएँ ।

त्यो समयमा एकप्रकारले म स्पोर्टी थिएँ । मलाई लाग्थ्यो, अब मेरो करिअर नै खेल हो । तर, खेलेर मात्रै जिविकोपार्जन गर्न सकिने स्थिति थिएन । त्यसैले मैले पढाइका लागि २०४६ सालमा खेल्न छाडें । त्यति बेला म आइए पढ्दै थिएँ । खेल छाडे पनि ज्यान फुर्तिलो राख्न कुनै कसर बाँकी राखिनँ ।

हिँड्ने लत

मलाई एक घन्टा पसिना आउने गरी हिँड्ने लतजस्तै छ । दाइसँग मर्निङ वाकमा जाने पुरानै बानी हो । त्यसपछि शरीरका सबै भागलाई पुग्ने गरी एक्सरसाइज गर्छु । विशेष गरी कम्मर, ढाड र खुट्टाको एक्सरसाइज नबिराई गर्छु । मलाई फिट रहन एरोबिकले पनि सघाएको छ । पहिले नियमित एरोबिक पनि गर्थें तर अहिले त्यो बानी छुटेको छ ।

मर्निङ वाक गर्न पाइएन भने म बेलुकी भए पनि एक घन्टा हिँड्छु । पसिना आएर नुहाएपछि ज्यानलाई सञ्चो महसुस हुन्छ । विदेशका कार्यक्रम होस् वा नेपालभित्रकै कुनै कार्यक्रममा जाँदा होस्, आफूलाई अनुकूल पर्ने समय मिलाएर हिँड्छु । कार्यक्रम जाँदा अरु लुगासँगै एक जोर ट्रयाक सुट र स्पोर्ट सुज लैजान भुल्दिनँ ।

जंक फुडलाई बाई बाई

मेरो दिमागमै प्याकेट होइन, चुल्होका खानेकुरा मीठो हुन्छ भन्ने बसेको छ । त्यसैले मैले जे भए पनि चुल्होमा पाकेको खानेकुरा खाने कोसिस गर्छु । आलु र चिउरा मात्रै भए पनि चुल्होमा पाकेको खानुपर्छ भन्ने मेरो मान्यता छ । बिहान उठ्नेबित्तिकै कम्तीमा दुई गिलास पानी पिउँछु । दूध चिया खानुअघि पनि एक गिलास पानी पिउँछु । जसले एसिड उत्पादन हुन दिँदैन । तर, खानेकुरामा म मनमौजी छु ।

मन लागेको चिज नखाई छाड्दिनँ । अहिलेसम्म बाध्यताले बारेका भनेको दही र मही मात्रै हो । खानेबित्तिकै घाँटी बस्ने भएकाले अलि होसियार हुन्छु । चिल्लो र पिरो बार्दिनँ । मलाई कम्तीमा एक हप्ताको एकचोटि घिउ राखेर भात खानुपर्छ । मकैको भात र रोटीको त फ्यानै हुँ । घरमा पनि धेरैजसो यस्तै परिकार बन्छ ।

कामको अनियमित सेड्युलले खाना खाने समय मिल्दैन । हाम्रो प्रोफेसनमा मिलाउने प्रयास गर्दा पनि नहुने रहेछ । त्यसैले अहिले म फलफूल र पानी गाडी वा झोलामा राखेरै हिँड्छु ।

गम्भीर रोग छैन

यो कुरा ‘भगवानको कानमा नपरोस् ।’ मैले कुनै गम्भीर रोगको सामना गर्नु परेको छैन । तर, खानाको अनियमितताले ग्यास्ट्रिकले भने केही समयसम्म सताएको छ । एक समय त कस्तो समस्या भयो भने खाना हेर्नै मन नलाग्ने । खायो भने पनि नपच्ने र तुरुन्तै शौचालय गइहाल्नुपर्ने ।

एक महिनायता बेला–बेलामा प्रेसर घटबढ हुन्छ । केही दिनअघि एउटा कार्यक्रममा गीत गाउन जाँदै थिएँ । एयरपोर्ट पुगेपछि खुट्टा भुइँमा छैन जस्तो भयो । हावामा उडेजस्तो लाग्न थाल्यो । मनभित्र डर बढ्यो, कतै कोल्याप्स त हुन्न ! त्यसपछि कार्यक्रममा नगएर म अस्पताल गएँ । प्रेसर घटेको रहेछ । अहिले म डाक्टरको अब्जरबेसनमा छु । हुन त यो बीचमा पनि म अस्ट्रेलिया कार्यक्रममा गएँ । केही औषधि लिएरै गएकी थिएँ । त्यस्तो केही भएन । अहिले नर्भिक हस्पिटलका डा. भारत रावतकहाँ चेकअप गरिरहेकी छु । स्वास्थ्यमा सचेत

म त्यस्तो हेल्थ–कन्सस मान्छे त होइन । तर, पनि आफूलाई फिट राख्ने प्रयास सक्दो गर्छु र बेला–बेला फुल बडी चेकअप गर्छु । केही समयअघि भारत पुग्दा एपोलो हस्पिटलमा पूरा ज्यानको चेकअप गरेकी थिएँ । केही समयअघि अल्का हस्पिटलमा पनि गरेँ । आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने मनमा छ । तर, हामीकहाँ त्यस्तो नियमित चेकजाँचको प्राक्टिस छैन ।

अभाव चेतनाको

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छैन । सर्वसाधारणमा सचेतनाको अभाव छ । कसैले टाउको दुख्यो भन्दा तुरुन्तै पसलेले औषधि दिन्छ यहाँ । यसरी हचुवाका भरमा प्रयोग गरिएको औषधिले साइड इफेक्ट गरिरहेको हुन्छ । रोगको पहिचान नभई औषधि चलाउनु हुन्न भन्ने चेतना छैन ।

यसमा ठूलो कमजोरी राज्यको हो । जनतामैत्री स्वास्थ्य सेवा र नीति अबलम्बन गर्न सकेको छैन । स्वास्थ्य बिमा छैन । जनताका लागि स्वास्थ्य उपचार सहज हुने खालको नीति अख्तियार गर्दैन । जसले गर्दा वर्षेनी धेरै जनता उपचार नपाएर मृत्यु भोग्नुपरेको छ ।

त्यसैगरी महामारीमा सरकारले स्वास्थ्य उपचार पहुँच पुर्याउने पूर्वाधारको विकास गर्न सकेको छैन । हालसालै जाजरकोटमा फैलिएकोे रोगको उपचारका लागि पाँच दिनपछि डाक्टरको टोली पुग्यो । नेपालगन्जबाट पाँच घन्टाको दूरीमा रहेको ठाउँमा पाँच दिनपछि डाक्टर पुग्नु जनताको स्वास्थ्यमाथि सरासर खेलबाड हो ।

स्वास्थ्य, साथी र सकारात्मक सोच

स्वास्थ्यसँग धेरै कुरा जोडिएका हुन्छन् । तीमध्ये सकारात्मक सोच र साथी महत्वपूर्ण कुरा हुन् । तनावरहित जीवन बाँचेमा मात्रै स्वस्थ रहन सकिन्छ । खुराफाती दिमागले नकारात्मक सोच पैदा गर्छ र स्वास्थ्यलाई हानि हुने रसायन पैदा हुन्छ । तनावग्रस्त अवस्थामा म साथीसँग कुरा गर्ने, संगीत सुन्ने वा टिभी हेर्ने गर्छु ।

यी मेरो स्वस्थ जीवनका अनुभव हुन् । आफ्नो स्वभाव र ज्यानअनुसार स्वस्थ रहने तरिका फरक हुन सक्छ । मलाई लाग्छ, नियमित कसरत, सकारात्मक सोच, काममा रमाउने बानी र प्याकेटभन्दा चुल्होको खानामा जोड गर्ने बानी भयो भने पनि धेरै रोगबाट जोगिन सकिन्छ ।