काठमाडौं/ राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएपछि राजपाका अध्यक्ष मण्डलका सदस्यहरुले कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीलाई यथाशीघ्र संसद बैठकमा उपस्थित गराउन सरकारसँग आग्रह गरेका छन् ।

वीरअस्पतालमा उपचाररत चौधरीसँग बिहीबार अस्पतालमै पुगेर छलफल गरेका अध्यक्ष मण्डलका सदस्यले त्यस्तो आग्रह गरेका हुन् । “रेशम चौधरीलाई टीकापुर घटनामा संलग्न आरोपमात्र लागेको हो, दोषी प्रमाणित भएको छैन, आशंकाको भरमा यसरी सांसदलाई दुःख दिन मिल्दैन,” अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने ।

अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र महतो कार्यकर्तासहित अस्पताल पुगेका थिए ।

अनशनरत चौधरीको स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेका अध्यक्ष मण्डलका सदस्यहरुले अस्पतालबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका थिए । चौधरीको स्वास्थ्यअवस्था प्रतिकुल हुँदैगएकाले चाँडै रिहाईको व्यवस्था गर्न नेताहरुले आग्रह गरे ।

चौधरीको अवस्थाप्रति आफू जानकार भएको र रिहाईको प्रक्रिया मिलाइरहेको प्रधानमन्त्री ओलीले बताएको अध्यक्ष मण्डलका सदस्य महतोले जानकारी गराए ।

“स्वास्थ्यअवस्था दिनप्रतिदिन विग्रदै गएको छ, सरकारले अविलम्ब चौधरीलाई अनशन तोड्न लगाउनुपर्छ, त्यसकालागि माग पूरा गर्नुपर्छ,” नेता महतोले चौधरी जनताबाट निर्वाचित सांसद भएकाले प्रमाणपत्र दिएर शपथको व्यवस्था गर्न सरकारसँग परामर्श गरेको बताए । त्यसकालागि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैसँग परामर्श जारी रहेको बताए ।

सांसद चौधरीले आफ्नो माग पूरा नहुँदासम्म अनसन नतोड्ने बताए । “स्वास्थ्यअवस्था बिग्रिएपनि बिग्रोस, माग पूरा नहुँदासम्म अनशन तोड्दिँन,” चौधरीले भने, “छानविन गरी दुईवटा समितिले प्रतिवेदन बुझाउँदासमेत सरकारले त्यसको कार्यान्वयन किन गरेन ?”

गत फागुन १४ गते चौधरीले कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेपछि पूर्पक्षकालागि कैलालीको धनगढी कारागारमा थुनामा राखिएको थियो । फागुन २० गतेदेखि कारागारभित्रै अनसन बसेपछि उनको स्वास्थ्यअवस्था बिग्रेको थियो । २०७२ भदौ ७ गते कैलाली टीकापुरमा घटनाहुँदा सातजना सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो ।

सो घटनाको मुख्य आरोपी भनेर प्रहरीले चौधरीलाई खोज्नथालेपछि दुई वर्षदेखि चौधरी भारतमा लुकेर बसेका थिए । चौधरी निर्वासित अवस्थामै प्रतिनिधिसभाको कैलाली १ बाट राजपा पार्टीकोतर्फबाट निर्वाचन लडेका थिए । निर्वाचनमा भारी मतले निर्वाचित चौधरीलाई अझै निर्वाचन आयोगले निर्वाचित प्रमाणपत्र दिइएको छैन ।

 बाह्रखरी