विभिन्न ‘रियालिटी सो’का नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले ‘डान्स नेपाल डान्स’ रियालिटी सो सञ्चालन गरी विजेतालाई पुरस्कार नदिई ठगी गर्ने सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २९ वर्षीय विक्रम अछामी रहेको महाशाखाले जनाएको छ ।

रियालिटी सोमार्फत पुरस्कार पाएको तर अछामीले पुरस्कार राशि नदिएपछि उनीविरुद्ध ठगीमा उजुरी परेको थियो । अछामीले ‘भी एन्ड भाइरस’ नामको नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरी ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटि सो चलाएका थिए । पहिलो सिजन २७ जेठ २०६८ बाट सुरु भएको थियो, जसमा ३ सय जना सहभागी थिए । दोस्रो सिजन भने २६ साउन २०७३ बाट सुरु भएको थियो । दोस्रो सिजनमा ४ सय जना सहभागी थिए । पहिलो सिजनमा प्रथम हुनेलाई ३ लाख, दोस्रो सिजनमा प्रथम हुनेलाई साढे २ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई १८ हजार रूपैयाँ नगद पुरस्कार दिने बताइए पनि ती पुरस्कार नदिईकनै उनी फरार भएका थिए ।