पर्वत/ मुस्ताङ, म्याग्दी र बागलुङमा उत्पादन हुने स्याउको लगत संकलन र राष्ट्रिय आयमा परेको प्रभावबारे अध्ययन सुरु भएको छ। नेपालको राष्ट्रिय आयमा ‘स्याउ’ को हिस्सा पत्ता लगाउन पहिलोपटक अध्ययन सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

उच्च पहाडी र हिमाली जिल्लामा स्थायी बालीको रूपमा खेती गरिँदै आएको स्याउको राष्ट्रिय आयमा हिस्सेदारीको विषयमा पहिलो अध्ययन सुरु गरेको विभागका कार्यवाहक महानिर्देशक नविनलाल श्रेष्ठले बताए। स्याउको व्यवसायिक खेती हुने गरेको र ठूलो परिमाणमा स्याउ उत्पादन हुने भए पनि त्यसले नेपालको राष्ट्रिय आयमा पारेको प्रभावका बारेमा अहिलेसम्म अध्ययन भएको थिएन। राष्ट्रिय स्तरबाट अध्ययन तथा सर्वेक्षणनहुँदा स्थानीय तथा जिल्ला स्तरबाट अनुमान तथा सामान्य सर्वेक्षणका भरमा स्याउखेतीका बारेमा कार्यक्रम तथा बजेट बनाउनुपर्ने अवस्था रहेको थियो।

विभागले ३३ वटा कार्यालयमार्फत ७७ वटा जिल्लामा अध्ययन सुरु गरेको बताउँदै केन्द्रीय कार्यवाहक महानिर्देशक श्रेष्ठले भने, ‘हामीले सबै कार्यालयमार्फत सर्वेक्षण सुरु गरेका छौं। यो सर्वेक्षणको प्रतिवेदन तयार भएपछि स्याउको बारेमा धेरै जानकारी प्राप्त हुन्छ।’ अध्ययनका क्रममा किसानकै घरमा पुगेर स्याउका जात, सम्भावना, चुनौती, उत्पादन क्षमता, उत्पादन लागत र बजार मूल्यका विषयमा लगत संकलन गरिनेछ। स्याउको पकेट क्षेत्र मानिने मुस्ताङको अध्ययन गरेर फर्केका तथ्यांक कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद शर्माले स्थानीय किसानलाई नै स्याउको जात र मूल्यबारे राम्रो ज्ञान नभएकाले अध्ययनले यसबारे राष्ट्रिय स्थिति पत्ता लगाउने बताए।

‘हामीकहाँ धेरै किसानहरु स्याउ खेतीका बारेमा जानकारी लिन आउँछन्’ शर्माले भने ‘विस्तृत अध्ययन नभएकाले सबै कुरा जानकारी गराउन सकेका थिएनौँ।’ धौलागिरीमा मुस्ताङको अधिकांश भेग, म्याग्दीको उच्च पहाडी भेग र बागलुङको ढोरपाटन क्षेत्रमा स्याउखेती हुँदै आएको छ। थाहाखबर