– “वाऊ ! क्या लेख्छौ ! ” – “यस्ता शब्दहरू के खाएर अङ्कुरण गराउँछौ  ?” – “अघि बढ, तिमी निकै अघि लाग्ने युवती हौ, तिमीमा साहित्यको अथाह भण्डार छ ! ” यी त सामान्य प्रशंसा हुन्, निरूपा प्रसूनले लेखन–यात्रामा सुनेका । यसबाहेक स्वनामधन्य लेखकहरूले उनलाई धेरै चिने । प्रशंसाका फूल ओइर्‍याए । हौसलाको जलप लगाए । कतिले त बाटो देखाउँछु भनी भ्याए । प्रशंसाबाट पुलकित भएर सुरूसुरूमा त उनले सोचिन्– साँच्चै राम्रो लेख्छु कि क्या हो ? तर, जब ती लेखकहरूको नियत उदाङ्दो हुँदै गयो, प्रशंसादेखि घीन लाग्न थाल्यो । अचेल प्रेरणाका शब्दमा स्वार्थभोगको गहिरो छाया देख्छिन् उनी । लेखनमा एउटा र यथार्थमा अर्को मानिस बाँचिरहेका ठुल्ठूला पुरुष साहित्यकारहरूले उनको मस्तिष्काका अनेकौं विम्ब भत्काए । त्यसअघि ती साहित्यकारहरूका अनेकौं आदर्शले निरुपाको मथिङ्गल तरङ्गित तुल्याएका थिए । अर्कै ग्रहबाट पर्दापण गरेका, अद्वितीय लाग्थे । तर, एकपछि अर्को गरी तिनका नियत पटाक्षेप हुन थाले । मस्तिष्कमा तिनका अनुहारमा कुरूपता, विद्रूपता पोतिँदै गयो, क्रमशः । गिनेचुनेका पुरुष साहित्यकारप्रति उनको अनन्य श्रद्धा थियो, भक्तिभावसमेत थियो कतिपयमा । तर, जब तिनका कलुषित चाहनाले मर्यादाको लक्ष्मणरेखा पार गरे र महिलालई फगत भोग्य वस्तु ठाने, त्यही दिनदेखि हो उनले कलम बलियो गरी समातेको । र, सामाजिक विकृति र विसंगति नाङ्गेझार पार्न थालेको । एउटा घटना स्मरण गर्छिन् उनी– ०६४/६५ सालतिरको घटना हुनुपर्छ, सम्झनाको प्रष्ट चित्र छैन उनीसँग । स्मृतिको धूमिल आभामात्रै छ । मथिङ्गलमा लेखनको हुटहुटी थियो । मनभित्र समाजभित्रका अनेकन विकृति र विसङ्गतिका कथाभ्रूण थिए । कतिले कापीका पानामा प्राण पाउँथे । कतिको नियति गर्भपतनसमान हुन्थ्यो । एकजना पत्रकार थिए । “कस्तो राम्रो लेख्छ्यौ निरुपा ! तिम्रो साहित्यचेतको जबर्जस्त प्रशंसक हुँ म,” फेसबुकमा अन हुनेबित्तिकै प्रशंसाको बुकी बोकेर इनबक्समा भित्रिइहाल्थे ती । हैरानै पारे भनौं । कुरैकुरामा एकदिन तिनले चाह पोखिहाले, “यस्ती राम्री साहित्यकारको अन्तर्वार्ता लिन पाउनुपर्‍यो नि गाँठे !” साहित्यको धुलेटोमा कखरा कोर्न सिक्दै गरेको । अन्तर्वार्ता नै प्रकाशित हुन्छ भने नाइँ कसरी भन्नू रु उनले टार्न, नकार्न सकिनन् । गइन् । अन्तवार्ता सकिएर रेकर्ड अफ गरेपछि ती पत्रकारले सीधै प्रस्ताव गरे, “यत्रो कुराकानी भयो, किस पनि गर्दिनौ त ? झन् आजको पूर्णचन्द्रको रात !” आकाशतिर हेर्दै पत्रकारले व्यहोरा देखाउन थालेपछि उनको मनमा भुइँचालो गयो । टेकेको जमिन थररर्र काँपेजस्तो भयो । उनी पसिनापच्छे भइन् । ओठमा आठ रेक्टरको भूकम्प गयो । तर, ती पत्रकारको अनुहारको भावमा बदलाव आएन । बरू मुहारमा साहसको जून थपेर अझै भने, “किन हिच्किचाउँछौ ? किस न मागेको हुँ, अर्थोक त देऊ भनेको छैन नि ! ” उनीसँग जवाफ दिन शब्द थिएन । जुरुक्क उठिन् । बोल्दै नबोली बाटो लागिन् । घरमा पुग्दा नपुग्दै मोबाइलमा सन्देश–धून बज्यो । मोबाइल खोलेर हेर्दा उनी तीन छक परिन् । ती पत्रकारले ‘यी फलानाफलानासँग मैले रात नै बिताएको छु, तिमीसँग चुम्बन न मागेको थिएँ, दिइनौ, अन्तर्वार्ता छापिँदैन’ आशयको सन्देश पठाएका थिए । पढ्दा अचम्मित भइनन् उनी । “प्रस्ताव स्वीकार नगरेर अन्तवार्ता नछापिएकोमा जति गर्भानुभूति थियो, त्यति नै ती पत्रकारको अक्षम्य हर्कत र स्त्रीविलासी चरित्रले मेरो मन अमिल्यायो,” उनी सम्झिन्छन् अहिले । त्यस्तै अर्को घटना पनि छ– अग्रज पुरुष साहित्यकारहरूको यौनजन्य हर्कतबाट आहत थिइन् उनी । दुर्व्यवहारजन्य कृत्यले छातीमा भुङ्ग्रो खडा गरेको थियो । कथा लेखेर जलन निभाउने प्रयत्न गरिन् । तर, झनै पीडा पो आइलाग्यो । कथा बुझाउन पुग्यो, सम्पादकको कक्षमा । जवाफ सुन्नुपर्ने– यस्तो होइन, तिमीले यौनकथा लेख । कथा प्रकाशित भयो, अग्रज पुरूष साहित्यकारहरूको प्रतिक्रिया सुन्नुपर्ने– शब्दमा यस्तो सौन्दर्य छ, शरीर कस्तो होला ? कतिपय अग्रजहरू अझै अघि बढेर प्रस्ताव गर्थे, “बेड सेयर गरौं न ! ” दिक्क हुन्थिन् र तिनै स्त्रीभोगी साहित्यकारहरूको नकाव उतारेर ‘वरिपरि’ लेखिन् । कथा प्रकाशित भएपछि एकजना साहित्यकारसँग रातो मुख नै गर्नुपर्‍यो । “तैंले यस्तो लेख्ने ? तेरै बदनाम गरिदिन्छ,” चर्काचर्की नै गरे तिनले । यतिसम्म प्रताडित भइन् कि आत्महत्या गर्ने सोचसमेत आयो उनमा । ‘वरिपरि’ पढेर भागिरथी श्रेष्ठले समेत जिब्रो काढिन्, “अहिले पनि नवोदित साहित्यकारहरूलाई यत्ति गाह्रो छ है रु हामी त यसका भुक्तभोगी हौँ । त्यतिबेला पनि पुरुष साहित्यकारहरू निकै ढोँगी थिए ।” ० ० ० हराभरा जंगल । प्रकृतिको सुमनोहर काख थियो, खैरहनी, चितवन । सौराहाको चिसो सिरोटेले सिंगै चितवनलाई त्राण दिएझैं लाग्थ्यो । पैत्रिक सम्पत्ति प्रशस्त । आयस्था पनि मनग्गे हुन्थ्यो । ठूलो दराई टोल । तिनै दराईका बालबच्चासँगै बित्यो उनको बाल्यकाल । जब समाज बुझ्न, चिन्न र घटना, दुर्घटनासँग साक्षात्कार हुन थालिन्, तिनले उनलाई लेख्न घच्घच्याउन थाले । घरनजिकै चितवन राष्ट्रिय निकुञ्ज थियो । निकुञ्ज नभई विश्वविद्यालयजस्तो थियो त्यो । दराई समुदाय, उनीहरूको आफ्नो एकधुर जग्गा थिएन । अर्काकै जग्गा–जमिनमा ओत लाग्थे । काँसपरालका छानोयुक्त घर कतिबेला हात्तीले भग्न तुल्याइदिने हो, यकिन थिएन । साहूमहाजनको जग्गा अधियाँमा कमाएर गृहस्थी धान्थे । तथापि उनीहरूको अनुहारमा तुष्ट हाँसो थियो । भनौं न, त्यही हाँसोले उनलाई जिउन सिकायो । दिनभरि बनुबुतो गर्थे, बेलुका टन्न खान्थे । उनीहरूका घरद्वारमा सपनाका ठुल्ठूला पोका पन्तुरा झुन्ड्याइको हुँदैनथ्यो । भरपेट मानो, र ओतलाग्ने छानोभन्दा पर्तिर उनीहरूका सपना थिएनन् । दराईहरूले मस्तिष्कबाट गरिबीको परम्परागत परिभाषा मेटाइदिएका थिए, उनको । सिर्जनासँग साइनो उनका बाबा पनि छद्मनामबाट चिताउन चाहन्थे– ‘चितवन शिखरबास’ । शिखरबास कविता लेख्थे । सुनाउँथे । छपाउँथे कतिपय । त्यही जैविक गुण उनीमा पनि सर्‍यो । “सिर्जना त विरासतमा पाएकी हुँ नि, साहित्य रगतमै छ मेरो !” अनुहारमा अट्टहास छाउँछ उनको । बाबु लेखरचनामा उद्यत भएकाले उनको रस पनि कवितामै बस्यो । कविता कोर्थिन् । कुद्दै बाबुलाई सुनाउन पुग्थिन् । तर, बाबु पत्याउँदै नपत्याउने । बरु अत्याउँथे, “जस्तो पायो त्यस्तै कविता र जसले पायो त्यसले कविता लेख्छ ?” उनी निराश हुँदिनथिन् । बरु झनै मस्काउँथिन् । उजिल्याउने कृत्यमा लाग्थिन् । “बाबुले त्यसो नभनेको भए कविता गहन विधा हो, सामान्य जप, तप र अनुष्ठानले कविता लेख्न सकिँदैन भन्ने पर्दैनथ्यो,” पिताप्रति कृतज्ञ छिन् उनी । बाबुले कविता सुन्न नमान्दा सुनिदिने उनको ठूलोबुबा हुनुहुन्थ्यो । उनले कविता सुन्थे र यस्तो लेख्नुपर्छ भन्दै सुझाउँथे पनि । पिताले त्यसो भने पनि स्कुलमा उनले वाहवाही बटुल्थिन् । कक्षा ७ मा पढ्दा विद्यालयमा कविता प्रतियोगिता भएको थियो । त्यसबखत ‘खाते बालक’ शीर्षकको कविता लेखेर उनले प्रथम स्थान हात पारेकी थिइन् । तिनताका ४ फागुनमा राष्ट्रिय बाल दिवस मनाइन्थ्यो । त्यही सन्दर्भमा आयोजित प्रतियोगितामा उनी पुरस्कृत भएकी हुन् । “त्यसले कहाँ लेख्नू, बाबुले लेखिदिए होलान्, अनि पुरस्कृत भई नि !” तर, अरूले सजिलै पत्याइदिएनन् । खिन्न हुन्थिन् उनी । ‘खाते बालक’बाट सुरू भएको उनको काव्यिकयात्रा ‘अभिलाषा’मा पुगरे सङ्गृहीत भयो । “०६३ सम्म आइपुग्दा कवितामा आफू वनका काँडासरह तिखारिएको प्रतीत भयो र कविता सङ्ग्रह निकाल्ने साहस गरेँ,” सम्झिन्छिन् उनी । त्यसका अतिरिक्त कवितामा उनी दुईवटा राष्ट्रिय पुरस्कारबाट विभूषित भएकी छन् । राष्ट्रिय महिला आयोग र भानुभक्त आचार्यको जन्मदिनका अवसरमा नेपाल सरकारले मनाएको दोस्रो शतवार्षिकी समारोहको अवसरमा आयोजित कविता प्रतियोगितामा उनी उत्कृष्ट ठहरिएकी हुन् । अस्तित्व निर्माण, समाजसँगको संवाद र उपस्थिति नै उनको काव्यमार्ग हो । “जति हिँडेँ, उती अस्तित्व देखाउन सकेँ,” सन्तुष्टै छिन् उनी । ०६३ पछि भने उनले कथाको बाटामा पाइला हालिन् । त्यसबखतको एउटा किस्सा छ– दाजु व्यवस्थापना सङ्कायका विद्यार्थी थिए । तथापि उनी साहित्यमा रूचि राख्थे । देशदेशावरका सिर्जना उनका पठनीय विषय थिए । दाजुको पढ्ने टेबलमा एकदिन उनले एउटा पुस्तक फेला पारिन् । पुस्तकको नाम सुनेरै उनी तर्सिइन् । किताब थियो– मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ । ‘लुकीलुकी के किताब पढ्नुहुन्छ भनेको त यस्तो पो !’ दिमागमा अर्कै विम्ब पो ठिङ्ग उभियो । किताबको नाम सुनेरै अत्ताल्लिएकी निरुपाले पछि आफैं त्यो कथा सङ्ग्रह पढिन् । एकपटक होइन, तीन पटक । एउटै थलोमा बसेर । त्यसैबाट प्रभावित भएर जन्माइन्– ‘तिम्रो लोग्ने र म’ ! “पुरुषले ‘तिम्री स्वास्नी र म’ लेख्न हुने, महिलाले ‘तिम्रो लोग्ने र म’ लेख्न किन नहुने रु मनमा यही प्रश्न सघन बनेपछि लेखेकी हुँ त्यो,” हाँस्छिन् उनी । ‘तिम्रो लोग्ने र म’भन्दा अघि नै उनले कथामा खुट्टा राखिसकेकी थिइन् । स्नातक तह पढ्दा उनी डिल्लीबजारमा बस्थिन् । त्यहीँबाट ‘पुष्पाञ्जली’ पत्रिका प्रकाशन हुन्थ्यो । ‘पुष्पाञ्जली’मा प्रकाशित ‘नजुरेको साइनो’ नै उनको ‘डेब्यु’ कथा हो । ‘तिम्रो लोग्ने र म’ कथाचाहिँ ०६८ मा ‘मधुपर्क’मा प्रकाशित भएको हो । पछि १३ वटा कथा समेटेर संग्रह प्रकाशित गरिन् र पुस्तकको नाम ‘तिम्रो लोग्ने र म’ शीर्षकथाबाटै छानियो । ‘तिम्रो लोग्ने र म’ कथा प्रकाशित भएपछि ब्राजाकीले पुलकित हुँदै उनलाई टेलिफोन नै गरे, “तिम्री स्वास्नी र म’ प्रकाशित भएताका नै मैले सोचेको थिएँ, कोही महिलाले यस्तै शीर्षकमा लेख्ने आँट गरोस्, लेखोस्, अहिले आएर त्यो इच्छा पूरा भो ।” ब्राजाकीको प्रतिक्रिया सुनेर उद्विग्न भइन् उनी । ‘तिम्रो लोग्ने र म’ लेखेपछि होच्याउनेहरू पनि ननिस्किएका होइनन्– कथा त ठीकै रहेछ, शीर्षकचाहिँ किन चोरेको नि ! ० ० ० कुनै समय थियो, उपनामबाट चिनिने । बाबु नै छद्मनामबाट पचिरिचत थिए । त्यसैले ढुङ्गाना थरलाई झिकेर प्रसूनको फुर्को झुन्ड्याइन् । त्यो पनि शब्दकोषबाट शब्द खोजीखोजी । उनलाई आफू कहिल्यै पूर्ण लागेन । केही अपुग, केही अभाव खट्किइरह्यो । त्यसो त मानव स्वयं पूर्णताका परिचायक पनि होइन । यसैलाई चित्रण गर्ने गरी नामभन्दा पछाडि प्रसूनको फुर्को झुन्ड्याएकी हुन् उनले । “कविता, कथामा म प्रसून अर्थात फक्रनै लागेको फूल हुँ नि,” विम्बमा आफैंलाई बुझाउँछिन् उनी । धिमा गति नै सही, उनी साहित्यमा बाटो नबिराई हिँडिरहेकी छन् । उपन्यासको पाण्डुलिपि सकेको दुई वर्ष भयो । प्रकाशन गर्न हतार पनि गर्दिनन् । किन त रु सपाट उत्तर छ, “मलाई कहीँ पुग्नु नै छैन, कसैलाई उछिन्नु छैन । कतै जानु, कतै पुगेर थमाइ मार्नु, सुस्ताउनु भए पो हतार गर्नु । कछुवा–हिँडाइ नै सही, हिँडिरहन चाहन्छु म ।” त्यसो त उनी आफूलाई शान्त तलाउ भन्न रुचाउँछिन् । न अचाल न छाल, आफ्नै लयमा तरङ्गित छिन् उनी । ० ० ० पछिल्लो समय नारीवादका नाममा अहंकारवाद मौलाएको छ भन्छिन् प्रसून । पुरुषलाई होच्याएर, दपेटेरैमात्रै अधिकार स्थापित हुँदैन भन्ने तर्कमा उभिँदै आएकी छन् उनी । त्यसो त समाज–लेखनमा ‘नारीवादी’ छवि बनाएका कतिपय अघिकारकर्मी लेखिकाहरू आफैं पीडक बनेका दृष्टान्त पनि छन् उनीसँग । “समाजमा अन्याय छ, अत्याचार छ, बग्रेल्ती पीडा पनि छन् । तर, आफैं पीडक बनेर पीडाको पैरवी गर्नुको के उपादेयता रु” उनले प्रश्न उठाउने यही प्रवृत्तिमाथि हो । समाज–सत्तामा बराबरीको प्रसंग पेचिलो बन्दै गएको छ । तर, यो एकले अर्कालाई निषेध, उषेध गरेर सम्भव छैन । “बराबरीको कुराचाहिँ उठाउँछन् तर महिलाहरूले आफूभन्दा आर्थिक, सामाजिक, शैक्षिक हिसाबले दुर्बल पुरूष स्वीकार्न सक्दैननन्, आफूभन्दा सबल नै खोजिरहेका, रोजिरहेका हुन्छन् । यस्तो ‘प्याराडक्स’ रहुन्जेल, लैङ्गिक समानताको बहस निरर्थक र निस्कामप्रायः हुन्छ,” अन्तिममा थप्छिन् उनी ।