बिर्तामोड/ ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ ।

बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अभि मंगलबारदेखि ढुवानी अवरोध गरेका हुन् ।

ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र चाप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ । ‘इन्धन ढुवानी व्यवसायीबाट सहयोग पाएका छैनौं,’ कार्यालय प्रमुख सनम कार्कीले भने उनीहरुले ट्यांकर नकुदाउँदा यस्तो भएको हो ।’

आपूर्ति रोकिंदा झापाका अधिकांश प्रेटोल पम्पहरु बन्द भएका छन् भने केहीले बाँकी रहेका प्रेटोलियम पदार्थ बिहीबार पनि बिक्री गर्दा ती पम्पहरुमा सवारीसाधनको भिंड लागेको थियो । मेची पहाडी जिल्लामा पनि केही हजार लिटर मात्र तेल भएकाले शुक्रबारबाट आपूर्तिमा झनै समस्या आउने प्रमुख कार्कीको भनाइ छ ।

चालकले प्रतिटयांकर एक सय लिटरसम्म इन्धन चोर्ने गरेको कारण लकिङ प्रणाली लागु गरेको र सोही कुरालाई आधार मानेर उनीहरुले अनावश्यक आन्दोलन गरेको आरोप निगमको अधिकारीहरुको रहेको छ । निगमका कार्यकारी प्रमुख सुशील भट्टराईले लकिङ प्रणाली जडान गरेर कसैको अहित र अप्ठयारो पार्ने नियत निगमले नराखेको बताउँदै पेट्रोलियम व्यवसायमा देखिएको समस्या र आलोचना सम्बोधन गर्न जडान गरेकोले यसलाई ट्यांकर मजदुरहरुले पनि सहयोग गर्नुपने बताए ।

केही सीमित स्वार्थमा देखिएको असन्तुष्टिले जडान प्रक्रिया नरोकिने उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लकिङ प्रणाली निगम र व्यवसायीको हितमै रहेको बताउँदै आपूर्ति व्यवस्थामा अवरोध भए राज्य सहेर नबस्ने बताए ।

उनले आन्दोलनरत मजदुरलाई आन्दोलन रोकेर काममा फर्कन सुझाव समेत दिए । ‘जायज मागहरू निगम, डिलर एसोसिएसनले पनि पूरा गर्नुपर्छ,’ उनले भने, ‘ढुवानीमा अवरोध भए सरकारलाई सहय छैन । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायीको साख जोगाउनकै लागि पनि प्रणाली जरुरी भएकाले मजदुरले अवरोध गर्नु भनेको उनीहरूकै अहितको काम भएको बताएका छन् ।

यता मजदुरहरु भने यस अघि २०७३ साल फागुनमा निगमसँग भएको १२ बुँदे माग पूरा नभए सम्म ट्यांकर नकुदाउने भन्दै बसेका छन् ।

अन्न्र्पुर्णपाेष्ट