जिम्बाब्वेमा विश्वकप क्रिकेट छनोट प्रतियोगितामा बिहीवार पपुआ न्यूगिनीलाई हराएर एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरिबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपालले क्रिकेटमा हात पारेको उपलब्धि प्रमुख चर्चाको विषय बनेको छ।

देश-विदेशका चर्चित व्यक्तिहरू र क्रिकेटसँग सम्बद्ध निकायहरूले नेपालको सफलताको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपालको उपलब्धिलाई ऐतिहसिक भन्दै नेपाली खेलाडीहरूले खुसी हर्षोल्लास गरेको क्षणलाई आफ्नो ट्विटर र फेसबुक खाताको मुख्य तस्वीर बनाएको छ।