एक समय नेपाली फिल्म क्षेत्रलाई अभिनेत्री निरुता सिंहको ‘दशक’ भनिन्थ्यो । उनी विनाका फिल्म कमै हलमा लाग्थे । निरुताले धेरै सम्झनलायक फिल्ममा अभिनय गरेकी छिन् । आजपनि उनी अभिनीत फिल्म दर्शकको मनबाट हट्न सकेका छैनन् ।

हरेक फिल्मका दृश्य र संवाद दर्शकलाई कन्ठ छन् । जुनसुकै वर्गका दर्शकका निरुता प्रिय अभिनेत्री हुन् । आजपनि उनको फिल्मको प्रतिक्षामा रहने दर्शक कम्ता छैनन् । तर, एक दर्शक अगाडि मुम्बई छिरेकी सुन्दरी अभिनेत्री सिंह पुनः पर्दामा फर्किइनन् ।

भारत मोह हो वा फिल्ममा अभिनय गर्ने रहर पुरा भयो उनी काँचको पर्दाबाट एकाएक टाढा भईन् । वर्षौदेखि गुमनाम जस्तै भएकी निरुतालाई फेरि पर्दामा हेर्न दर्शकका आँखा प्यासिएका छन् ।

'दर्पणछायाँ', 'लहना', 'दुई किनार' लगायतका सय बढी फिल्ममा अभिनय गरेकी निरुता अहिले भारतको मुम्बईमा इन्टेरियर हाउस सञ्चालन गरेर बसेकी छन् । पटक-पटक फिल्ममा फर्किने उद्घोष गरेपनि अहिलेसम्म उनको पाइला अगाडि बढ्नबाट भने रोकिएको छ ।

केही दिन अगाडि कतारमा आयोजना भएको एक साँस्कृतिक कार्यक्रममा भेटिएकी निरुताले आफूलाई पुनः दर्शकको माया पाउन नेपाली फिल्ममा फर्किने ठूलो रहर रहेको बताइन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘म आज जहाँ छु त्यो नेपाली फिल्म क्षेत्रले दिलाएको ठाउँ हो । म हरेक पल मेरा दर्शकलाई सम्झिन्छु । फिल्म क्षेत्रलाई सम्झिन्छु । मेरो चाहना छ मेरा दर्शकलाई एउटा राम्रो फिल्म दिने । त्यो इच्छा चाँडै पुरा हुन्छ ।’

उनले राम्रो स्क्रिप्ट भेटेको खण्डमा फिल्ममा फर्किने बताइन् । ‘मुम्बईमा बसेपनि केही फिल्मबाट अफर आइरहेका हुन्छन् । तर, म एउटा राम्रो फिल्म खोजिरहेको छु ।’ उनले थपिन् ।

उमेरले ४० वर्ष नाघिसकेकी निरुताले विवाहको विषयमा पनि मुख खोलिन् । उनी आफूले चाहेर विवाह नहुने बताउँछिन् । भन्छिन्, ‘भगवानले माथीबाटै जोडी जुराएर पठाएका हुन्छन् रे ! मेरो लागि पनि कोहीँ जुराएर पठाएका होलान् नी !’

निरुताले अभिनेता राजेश हमालको विवाहको खबर पहिलो पटक सुन्दा अचम्म लागेको सुनाइन् । ‘उहाँले धेरै पटक मसँग कुरा हुँदा विवाह गर्दिन भन्नुहुन्थ्यो ।’ उनी भन्छिन्, ‘जब उहाँको विवाहको खबर सुनेँ अचम्म लाग्यो र सुखी पनि भएँ ।’

एक समय निरुता र हमालको अफयेरको हल्लाले सिनेवृत तरंगीत बन्ने गर्थ्यो । धेरैले दुबै अविवाहित भएका कारण विवाह हुनसक्ने अडकल पनि नकाटेका होइनन् ।

नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन भइसकेको छ । कसको जोडी भएर पर्दामा फर्किने रहर छ ? पत्रकारको प्रश्नमा निरुता अगाडि भन्छिन्, ‘सबैसँग काम गर्ने उतिक्कै मन छ । उहाँहरुको अनुभव सुन्न मन छ । उहाँहरुबाट धेरै कुरा सिक्ने चाह छ ।’

निरुता सन् १९९३ मा तुलसी घिमिरेको फिल्म ‘दक्षिणा’ मार्फत नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी थिईन् ।