सम्मानको अलि फरक र सृजनात्मक तरिका हामीले यस अघिदेखि नै अपनाउँदै आएका थियौं । मृदु मुस्कानधारी उनको अनुहारको औसत अवस्था । त्यही अवस्थालाई प्रसिद्ध चित्रकार सरोजा खड्गीले चित्रमा उतारिन् । गम्भिरताभित्रको मुस्कानसँगै नेपाललाई विश्वका चिनाउने शान्तिका प्रतिक गौतम बुद्धको मुहार पनि क्यान्भासमा जोडाएर वसाइयो । अनि लेखियो ‘बुद्ध मितेरी’ ।

आफ्नो सुन्दर मूर्तिकलालाई अन्तर्राष्ट्यिस्तरसम्म फैलाउन सफल मोरङ मिक्लाजुङका मूर्तिकार मञ्जुल मितेरीको महान अभियानका लागि उनकै मुहारचित्रसँग बुद्ध जोडेर उनैलाई सम्मानस्वरुप प्रदान गरियो । कार्यक्रम हो उत्तरपूर्वी मोरङको सृजनात्मक गतिविधिलाई जागृत गराउने अभियानमा जुटेको पथरीशनिश्चरेको एभरेष्ट आर्ट फ्यूजनको ०७४ चैत २ गतेको मासिक श्रृंखला । फागुन ४ मा पहिलो श्रृंखला सुरु भएकोमा दोस्रोमा मञ्जुलको महान अभियानलाई सम्मान गर्न जुर्यो । त्यो सम्मानपनि नगरप्रमुख दीलिपकुमार राई र मुहारचित्र निर्माणकर्ता उस्तै हस्ती सरोजा खड्गीबाट प्रदान हुन पायो ।

डेढ वर्ष अघि सन् २०१७ सेप्टेम्बरमा जापान हानिएका उनी ३ साताको विदा मागेर घर आइपुगेका मञ्जुल नेपालको इतिहाससँग जोडिने महान अवसरमा उक्लिसकेका छन् । विश्वशान्तिका अग्रदुत गौतम बुद्ध नेपालका हुन् भन्ने कुरालाई प्रष्ट्याएर नेपाललाई विश्वसामु चिनाउने कामका उत्तिकै सक्रिय हुन पाएको कुरा उनले सुनाए । मञ्जुलले मूर्तिकला र बुद्धका सवालमा नेपालका लागि ऐतिहासिक काम गरेको कुराको सवैले गर्व महसुस गरे ।

जापानको कुमामोतो जिल्लाको खामीआमाकुसा नगरपालिकामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनका हातले उही गौतम बुद्ध सिर्जना गरिरहेको छ । कठोर पहाडका यमान भित्तामा उत्ती नै कोमल शान्तिदुत बुद्धको स्वरुप कुँदिरहेछन् ।

ओसिमा सेकिबुचुयामा नामको संस्थाले शहरभन्दा ८० किलोमिटरको दुरीमा ग्रामिण मात्र नभएर अनकन्टार पहाडमा एउटै ढुंगामा गौतम बुद्ध र बुद्धका सहायक देवीदेवताका गरी ७ वटा पूर्णकदको मूर्ति निर्माणमा उनलाई झिकायो । अनि उनले सिद्धहस्त युवा मूर्तिकार, काभ्रेका सानुभाई विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मिक्लाजुङका गणेश राईलाई साथमा लिएर त्यहाँ पुगे र काम थाले । त्यसपछि त मञ्जुललाई ‘आधुनिक अरनिको’ को संज्ञा दिन थालियो ।

७ वटा मूर्ति पुरा गर्न जम्मा साढे ७ वर्षको सम्झौतामा उनीहरु काम गरिरहेका छन् । पछिल्लो २ सय वर्षमा विश्वकै सवैभन्दा ठूलो ढुंगाको मूर्ति वनाउने ऐतिहासिक अवसरले मञ्जुल अगुवाईको टोली नेपाली मूर्तिकलाको क्षेत्रमा ज्यादै ठूलो नाम लेखाउन पायो ।

कुल कामको ३० प्रतिशत काम सकिएको छ । ६५ फिट अग्लो बुद्धमूर्तिको यसबेला मुहार निर्माण भइसकेको छ । ४५ फिट अग्लो बुद्धको सहायक देवताको पनि मुहार तयार भएको छ । सवै मूर्ती तयार भएपछि विश्व सम्पदा सूचिमा राख्ने त्यहाँको योजना रहेछ । कलाकार अरनिको नेपालबाट औपचारिक रुपमा विदेशमा मूर्ति वनाउन चीन गएका थिए । अरनिकोपछि विदेशमा औपचारिक मूर्ति वनाउन बोलाइएको यो दोस्रो अवसर बुद्धका बारेमा प्रष्ट्याउने हिसावले पनि उत्तिकै महत्वपूर्ण बनेछ ।

त्यहाँ सरकारी अधिकारीहरुको आतिथ्यतामा भव्य कार्यक्रमबीच मूर्ति निर्माण अभियानको उद्घाटन् गरियो । आयोजक संस्थाले ती अधिकारीहरुसँग मूर्तिकारहरुको चिनजान गरायो । कतिपय सरकारी कार्यालयमै लगेर उनीहरुलाई चिनाउने काम आयोजकले गरे । त्यसबेला उनीहरु नेपालको राष्ट्यि पोशाकमा सजिएर गएका थिए । त्यो फरकखाले पोशाकका बारेमा सोधनी हुँदा नेपाली मौलिक पहिचान झल्काउने काम गरे ।

बुद्धका बारेमा प्रदर्शनी गरेर कार्यक्रम उद्घाटन् भयो । तर प्रदर्शनी तथा त्यहाँ लेखिएका सामग्रीहरुमा त बुद्ध भारतमा जन्मिएका र भारतका हुन् भनेर लेखिएको रहेछ । लुम्विनी भारतमा पर्छ भनेर भारतको प्रचारको प्रभाव परेको रहेछ । त्यो पढेपछि आफुसँग भएका बुद्ध सम्बन्धीका तथ्यहरु प्रस्तुत गरेर बुद्ध नेपालमा जन्मिएका र नेपालका हुन् भनेर त्यसलाई सच्याउने काम भएको गतिलो कुरा मञ्जुलले व्यक्त गरे ।

मञ्जुलका तथ्यगत भनाई र तथ्यगत सामग्रीका आधारमा उनीहरुले बुद्धका बारेमा सच्याएका र अरु जानेहरुलाई पनि आफुहरुले बुद्धका बारेमा प्रष्ट्याउने गरेको अर्काे महत्वपूर्ण काम भएरहेको उनले सुनाए । सुनिरहेथे पूर्वका पुराना गायक वीरध्वज शिवा सहितका पूर्वका ख्यातिप्राप्त गजलकार, कवि, गायक, संगीतकार, चित्रकार, मूर्तिकार सहितका सृजनाका नवसर्जकहरु ।

यत्तिका कुरा सुनिसकेपछि सवैका मन मनमा नेपालीपनको भावना झंक्रित भएर आयो । स्वाभिमानी छात्ती ढक्क फुल्यो । सृजनाको महत्व प्रत्यक्ष बोध भयो । कविता लेखेर, ढुंगा खोपेर, चित्र कोरेर के नै पाइन्छर भनेर अभिभावक र साथीसँगीले भन्ने गरेको प्रसंगलाई यो कुराले एकाएक परास्त पार्यो । सृजनाको सुकिलो संसार अनि यसको तागत घाम जस्तै उज्यालोगरी छर्लङ पारिदियो । प्रत्येक मान्छेहरु सृजनशिल वन्नु पर्ने कुराको गतिलो सन्देश वन्यो । सवैको मन सृजनशिल वनाइहाल्न नसकिएपनि सृजनशिल मनका लागि स्थानीयस्तरबाट होस्टेमा हैंसे गर्नुपर्ने आवश्यकता बोध समेत गरायो ।

स्थानीय तहमा साहित्य, कला र संस्कृति सम्वन्धी उपसमिति नै खडा गरेर त्यसको संरक्षण र प्रवद्र्धनका कार्यक्रम बनाउने संविधानले समेत बोलिसकेको कुरा हो । वेलबारीमा त्यो शिर्षकमा राम्रै बजेट छुट्टिएको हामीले थाहा पाएका छौं । त्यहाँ साविक गाविस नै हुँदा गाविसले नै साहित्यकारहरुलाई राखेर साहित्य विकास समिति खडा गरिदिएको अवस्था स्मरण समेत गर्दै हाम्रो नगरका प्रमुखतिर हेर्दै थियौं ।

दमकमा पनि साहित्य महोत्सव नै गर्ने कुरामा नगरपालिकाको चासो बढेको कुराले पथरीशनिश्चरेमा पनि केही त हुँदै जानुपर्छ भन्ने हुटहुटी हामीमा बढिरहेको थियो । त्यही गहनताको अपेक्षामा समेत सामेल सर्जकहरुमाझ कार्यक्रममा प्रमुख अतिथिका रुपमा पदासिन नगरप्रमुख दीलिपकुमार राईलाई पनि फ्यूजनका पूर्व उपाध्यक्ष मञ्जुलको अभियानले निकै प्रभाव पार्यो । आफु साहित्य र कलाको सर्जक नभएपनि यसखाले गतिविधि मन पर्ने भएकाले कार्यक्रमका बारेमा सामाजिक सञ्जालमा देख्ने वित्तिकै आफु पनि सहभागि हुने इच्छा व्यक्त गरेका थिए उनले ।

सोही मुताविक उपस्थित उनले नगरको यसखाले सृजनाको गतिविधि अघि बढाउन नगरपालिकाले सहयोग पुर्याउने वचन दिए । साझा कार्यक्रम वनाएर लिएर आउन सुझाव दिए । संविधानले बोलेपनि व्यवहारमा लागू हुन वाँकी नै रहेको अवस्थामा सृजनाको मर्म पर्गेलेर दिइएको यो वचन अवको समयका लागि निकै महत्वपूर्ण ठान्यौं हामीले ।

यसखाले वचनदान आएपछि सवैबाट तालीको पर्रा छुट्यो । सृजना क्षेत्र उपेक्षित भइरहेको अवस्थामा स्थानीय सरकारका प्रमुखका यस्ता कुरा व्यवहारमा परिणत हुँदै निरन्तर नीति तथा कार्यक्रममा स्थायी रुपले सृजनाको क्षेत्र सम्वोधन भए मान्छेभित्रका मनहरु अझ मानवीय हुने थिए ।

अझ मायालु, अझ पे्रमील, अझ श्रमजिवी, अझ सृजनशिल, अझ मानवीय मुल्य र मान्यताका पक्षपाती पक्षपाती वन्ने थिए । सुन्दरताहरुमा थप सुन्दरता थपिने थियो । फूलहरु अझ सुगन्धित लाग्ने थिए । काँडाहरु पनि सुन्दर लाग्ने थिए । पराइहरु पनि आफन्तको मित्रतामा बाँधिने थिए । उनीहरु नै समतामुलक समाजका सम्वाहक बन्ने थिए ।