धरान/ मध्यनेपाललाई पूर्व जोड्ने छोटो मार्ग धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौँडा सडक निर्माण सुस्त भएको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी मंसिर ०७३ मा ठेक्का दिएयता १५ प्रतिशत मात्र काम भएको छ ।

३ सय १८ किमि सडक दुई लेन बनाउन दुईवटा कम्पनीलाई ठेक्का दिइएको छ । उदयपुर बसाहा वीरेन्द्र चोकदेखि सिन्धुली भिमानसम्मको १३५ किमि सडक निर्माणको ठेक्का जेटआइइसी लामा जोइन भेन्चरले पाएको छ ।

भिमानदेखि हेटौँडासम्मको ११५ किमि सडकको ठेक्का कालिका, स्वच्छन्द राङकेन जोइन भेन्चरले पाएको छ ।

सडक विभागका इन्जिनियर कविश तण्डुकारका अनुसार तीन वर्षभित्र सडक ११ मिटर फराकिलो बनाइसक्ने ठेक्का सम्झौतामा उल्लेख छ । सडक धरानबाट सुरु भएर दुन तथा शिवालिक उपत्यका, चुरेभावर र भित्री मधेस हुँदै हेटौँडा पुगेर टुंगिन्छ ।

कालिका कन्स्ट्रक्सनले धरानदेखि बसाहासम्मको सडक भने निर्माण गरिसकेको छ । यसअघि धरान–बसाहा–रूपनगर ९सप्तरी० सडकको ठेक्का कालिकाले पाएको थियो ।

धरान–बसाहा हुँदै अहिले बनिरहेको सडक हेटौँडातर्फ लाग्ने कालिका कन्स्ट्रक्सनका कर्मचारी हरि पराजुलीले जानकारी दिए ।

सडकको ट्र्याक गत वर्ष नै सकिइसकेको ठेकेदार कम्पनीहरूले जनाएका छन् । सडक निर्माणको काम सकिएपछि कालोपत्रे सुरु गर्ने कालिका कन्स्ट्रक्सनका पराजुलीले जानकारी दिए ।