मोरङ/ मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरपालिकाबाट निर्माण गरिने कानून, नीति, नियम निर्माण सहितका महत्वपूर्ण निर्णयहरु वाहिर ल्याउन राजपत्र प्रकाशनका लागि कार्यविधि पारित गरेको छ ।

नगर प्रमुख दीलिपकुमार राईको अध्यक्षतामा शनिवार बसेको नगर कार्यपालिकाको वैठकले विभिन्न १८ वटा वुँदामा छलफल गर्दै राजपत्र प्रकाशन सम्बन्धी तयार भएको कार्यविधि सहितका विषयमा निर्णय गरेको नगरपालिका प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । बैठकले दोस्रो नगरसभा आगामी वैशाख १७ गते वस्ने पनि टुंगो लगाएको छ ।

यसैगरी, चैत महिनाभरीमा आवश्यक परामर्श लिई शैक्षिक कार्यविधि पारित गर्ने तथा चाँडै वाल संरक्षण कार्यविधि निर्माण गर्ने निर्णय भएको छ ।

अवको आर्थिक वर्षमा भूक्तानी गर्नेगरी वडाध्यक्षहरुका लागि आवश्यक मोटरसाइकल खरिद गर्न मोटरसाइकल कम्पनीसँग आशयपत्र माग गर्ने पनि निर्णय गरिएको छ ।

यस आर्थिक वर्षमा परेका योजनाहरु चैत मसान्तभित्र सम्झौता गरिसकेर जेठको १५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने वैठकले निर्णय गरेको छ । त्यसका साथै ५० हजारसम्मका योजनाहरु वडा कार्यालयमार्फत सम्झौता गराएर काम गराउने समेत निर्णय हुन पुगेको छ । विद्युत चुहावट नियन्त्रण अभियान अघि बढाउने योजनाका साथ बैठकले पथरीशनिश्चरेलाई विद्युत चुहावट रहित नगर घोषणा समेत गरेको छ ।

नगरका सडक निर्माण र मासु पसल मापदण्डमा ल्याउन अनुगमन् तथा नियमन गर्ने सहितका निर्णय भएका छन् ।

वडा नम्बर १, २ र १० मा प्रक्रिया अघि बढेको खानेपानी तथा ढल निकासका लागि स्रोत खोजी आवश्यक थप जग्गा खरिद गर्ने सहितका वुँदामा निर्णय भएको उल्लेख छ ।

यसैगरी, नगरका सडक क्षेत्रमा राखिँदै आएका पसल, टहरा, निर्माण सामग्री तथा अव्यवस्थित पार्किङ हटाउनका लागि आइतबार सम्वन्धित सरोकारवाला पक्षसँग छलफल गरी सडक क्षेत्र खाली गर्ने काम अघि बढाउने निर्णय भएको छ ।

भूपेन्द्र तिम्सिना