मोरङ/ झापाको दमक नगरपालिका १ नम्बर प्रदेशको उत्कृष्ठ नगरपालिकामा चयन भइ पुरस्कृत भएको छ ।

नेपाल नगरपालिका संघले आफ्नो २५ औं स्थापना दिवशका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थ मन्त्री युवराज खतिवडाले दमक नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाई उत्कृष्ठ नगरपालिकाको पुरस्कार प्रदान गरेका छन् ।

१ नम्बर प्रदेशका नगरपालिकाहरुमध्ये नगरपालिकाको सेवा प्रवाह, प्रशासनिक चुस्तता, स्रोत परिचालन, शहरी योजना तथा वातावरण संरक्षण एवम् शहरी सुशासन कामय राख्न गरेको योगदानको उच्च मुल्यांकन गर्दै उत्कृष्ठ नगरपालिकाको पुरस्कार प्रदान भएको नगर उपप्रमुख गीता अधिकारीले बताइन् ।

उनले दमक नगरपालिकाले समयमा नै नगरसभा सम्पन्न गर्ने देखि लिएर ऐन कानूनहरु बनाएर राजपत्रमा प्रकाशित गरेको जनाउदै देशभरका नगरपालिकामध्ये उत्कृष्ठ भएको उल्लेख गरिन् ।