काठमाडौं/ कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो ।

‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने । परिषद् गठन भएको १७ वर्षपछि कक्षा ११ र १२ को पुस्तक परिवर्तन हुन लागेको हो ।

आगामी साउनमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्न पाउनेछन् । सातवटै प्रदेश र सबै स्थानीय तहमा समान गुणस्तरको शिक्षा प्रदान गर्न पाठ्यक्रम संशोधनसहित परिमार्जन गरिने काप्रीले बताए ।

कक्षा ११–१२ लाई पनि विद्यालय शिक्षामा समायोजन गरिएपछि केन्द्रले नै पाठ्यक्रम बनाउन लागेको हो । प्रारूप बनेपछि देशभरका सामुदायिक र निजी विद्यालयमा सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकबाट पठनपाठन हुनेछ ।

‘अहिले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढिरहेका छन्,’ उनले भने, ‘यिनीहरूले कक्षा ११ मा पनि नयाँ पाठ्यक्रमअनुरूपका पुस्तक पढ्न पाउनेछन् ।’

प्रारूप तयार भएलगत्तै कक्षा १ र ११ को पाठ्यपुस्तक परिवर्तन हुनेछ । अन्य कक्षाहरूको पाठ्यपुस्तक भने आगामी वर्षहरूमा क्रमशः परिवर्तन गरिनेछ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम प्रणाली लागू गर्ने केन्द्रको तयारी छ । ती कक्षामा अहिलेजस्तो विषय नबनाई एकीकृत ढंगले भाषा र गणित सिकाउने योजना बनाइएको हो ।

आधारभूत तह कक्षा १–८ र माध्यमिक तह कक्षा ९–१२ लाई आधार बनाएर पाठ्यक्रमको मूल रूपरेखा तयार पार्ने काम भइरहेको छ । केन्द्रका अनुसार विशेषज्ञ खटाई नयाँ पाठ्यक्रम बनाउने काम भइरहेको छ ।, कान्तिपुरमा खबर छ ।