काठमाडौँ/ आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ ।

२०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७३-०७४ मा प्राधिकरण १ अर्ब ५१ करोड रुपैयाँ नाफामा गएको जानकारी दिए । “अघिल्लो वर्ष ५२ अर्ब १० करोड बराबर आम्दानी भएकोमा खर्च ५० अर्ब ६० करोड रुपैयाँमात्र भएर नाफामा गएको हो,” उनले भने । प्राधिकरणको तथ्यांकअनुसार आव २०७२-०७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ बराबर घाटामा थियो । विद्युत् महशुल वृद्धि, चुहावट न्यूनीकरण, आन्तरिक उत्पादनमा भएको वृद्धिका साथै विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता भएको ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना जुरे पहिरोपछि सञ्चालनमा नआइ डलरमा भुक्तानी गर्नुपर्ने अवस्था नआउनुलगायतलाई प्राधिकरणको आम्दानी बढ्नु र घाटा कम हुनुको कारणको रूपमा लिइएको छ ।

 कारोबारदैनिक