बागलुङ / बागलुङ जिल्लाको ढोरपाटनमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बुटवलबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट बडिगाड खोलामा खस्दा अन्दाजी ६५ वर्षीया महिलाको ज्यान गएको हो । मृतकको सनाखत हुन नसकेकाले नाम ठेगाना पत्ता लगाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा परि चालक सहित १० जना घाइते भएका छन् । जस मध्ये भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ को मुस्तेतार अलि र ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला विकको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । बसमा सवार ७ जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताए ।

दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलि, भारत रतनपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।