हालै काठमाडौंका तीन शिक्षण संस्थानहरुमा ठेउलाको प्रकोप देखा परेपछि ठेउला संक्रमितहरु परामर्श तथा उपचारका लागि मकहाँ आए। उनीहरुको भनाइ अनुसार दर्जनौं विद्यार्थी पनि संक्रमित भएकाले कोही उपचार वा कोही घरमा बसेर आराम गरिरहेका छन्। यो संख्या अरु शिक्षणसंस्था वा सार्वजनिक संस्थाहरुमा पनि हुन सक्छ। हरेक वर्ष जस्तो जाडो महिना सकिए लगतै ठेउलाको प्रकोप देखा परेको छ।

के हो ठेउला?

'चिकेनपोक्स' भनेर चिनिने ठेउला 'भेरिसेला जोस्तर' भाइरसको कारणले हुने गर्छ। यो भाइरस सहजै बिरामीका खोकी वा थुकको छिटा तथा बिरामीका छालामा देखिने फोकाका पानी छोएमा सर्ने गर्छ। शरीरमा बिबिराका पानी फोकाहरु देखिनु १-२ दिन अघिदेख फोका नसुकेसम्म बिरामीबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्छ। संक्रमित भएको १० देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्ने गर्छन्।

ज्वरो आउनु, अलश्य हुनु र शरीरमा चिलाउने बिबिरा देखिनु यसका मुख्य लक्षण हुन्। बिबिरा सामान्यतः अनुहारबाट सुरु भएर घाँटी, छाती, ढाड पछाडि हुँदै शरीरमा फैलन्छ। बिबिराहरु पानी फोकामा परिणत भई पाप्रा भएर झर्ने गर्छ। पानी फोका एकदमै संक्रमित हुने गर्छ र छोएमा भाइरस सजिलै सर्न सक्छ। हप्ता १० दिनमा यो क्रम सकिने गर्छ।

को बढी जोखिममा?

१) साना बालबालिका २) गर्भवती महिला ३) रोगप्रतिरोधाक्मक क्षमता कमजोर भएकाहरु

के कस्ता जटिलता आउन सक्छ?

१) निमोनिया २) स्नायु प्रणालीमा संक्रमण ३) रक्तश्राव ४) सेप्सिस ५) छालाको संक्रमण

यसको उपचार के हो?

१) प्रशस्त आराम २) प्रशस्त झोलिलो खानेकुरा सेवन ३) चिकित्सकको सल्लाह अनुसार एन्टिभाइरल औषधि प्रयोग ४) लक्षण अनुसार चिकित्सकले दिएको एन्टिबायोटिक प्रयोग

कसरी बच्ने?

संक्रमित व्यक्तिले घरैमा बसी चिकित्सकको सल्लाह अनुसार औषधि लिएर आराम गर्नु उपयुक्त हुन्छ। संक्रमित व्यक्तिले खोक्दा वा सो व्यक्तिलाई छुँदा सहजै रोग सर्ने र फैलने भएकाले त्यस्ता बिरामी सार्वजनिक स्थलमा नजाँदा राम्रो। हाल यसको खोप नेपालको बालखोप कार्यक्रममा समावेश नभएकाले जोखिममा भएका व्यक्तिले छुट्टै लिन सक्छन्। यसबाट रोग लागिहालेमा पनि कडा हुने हुँदैन। तर, एक पटक ठेउला लागेमा पछि फेरि दोहरिने सम्भावना अत्यन्त न्यून हुन्छ।