काठमाडौं/ ठमेलमा प्रहरीमाथि धाकधम्की दिनुका साथै कुटपिट गरेको अभियोगमा एक युवक पक्राउ परे । ‘गुड फ्राइडे’मा रहेका उनले भनेका थिए- म एआईजीको छोरा हुँ, तिमीहरु जस्ता ४/५ जना मेरो घरमा खाना पकाउँछन् ।

मध्यरातमा प्रहरीमाथि कुटपिट गरेपछि उनलाई भ्यानमा हालेर महानगरीय प्रहरी वृत्त दरबारमार्ग ल्याइयो । मदिराले लठ्ठ भएका युवकले ‘एआईजीको छोरा हुँ’ भन्दा सुरुमा त प्रहरीले वास्ता गरेन तर, वृत्तमा ल्याएपछि थाहा भयो उनी एआईजीकै छोरा रहेछन् ।

प्रहरीले २५ वर्षीय सुगम बमलाई पक्राउ गरेको थियो । उनी प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका जेठा छोरा हुन् । ‘गुड फ्राइडे’ मनाउन साथीहरुसँग ठमेल पुगेका सुगमले राति १ बजे प्रहरीलाई थर्काउँदै हातपात गरेका थिए ।

यस्तो थियो घटना

पछिल्लो समय ठमेल, सोह्रखुट्टे एरियामा तेस्रोलिङ्गी समूहले लुटपाट मच्चाएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । त्यस क्रममा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति ठमेल पुगेको थियो ।

प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति १ बजेतिर सुगमसहित ६/७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए ।

तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले एआईजी बुबाको धक्कु लगाउँदै ‘तिमीहरु जस्ता ४/५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले ।

त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु पर्‍यो ।

सुगम प्रहरीमाथि नै जाइलागे । तर, प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्‍याएर रातभर राख्यो ।

रीले उनका बुबा र आमालाई बिहानपख फोन गरे । नभन्दै उनी प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका छोरा रहेछन् ।

बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी नै दिएका छन् ।

घटनाबारे छानबिन गर्न समिति बनेको छ ।