‘ह्यान्डसम भिलेन’ को ट्याग अब अभिनेता अनुप विक्रम शाहीका लागि आफ्नो बलियो परिचय बनिसकेको छ । पर्दामा हिरो भन्दा भिलेनको भूमिकामा दर्शकले औधी रुचाएका छन् उनलाई । ड्यासिङ पर्सनालिटी, वजनदार आवाज र दमदार अभिनयले उनको चर्चा दिन प्रतिदिन चुलिँदो छ ।

जतिजति उनी चर्चाको पात्र बन्दछन् उतिउति उनको डिमाण्ड बढ्दै गएको छ । प्राप्त जानकारी अनुसार, अहिले उनी नेपालका नाम चलेका अभिनेताले लिने पारिश्रमिक एक फिल्मबाट बुझ्ने गरेका छन् । अहिले भिलेनको भूमिकामा यदी कसैलाई सबैभन्दा धेरै खोजिन्छ भने ती अनुप नै हुन् ।

फिल्ममा उनी भएपछि हिरो छायाँमा पर्छन भनिन्छ । हालसालै प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म 'कृ' मा अनुपले निर्वाहा गरेको 'निगमबाबा' को भूमिकालाई दर्शकले अत्याधिक मन पराएका थिए ।

उक्त फिल्ममा अनमोलभन्दा अनुप पावरफूल रहेको बहस पनि चल्यो । तर, उनी सेकेण्ड लिड क्यारेक्टरमा मात्र राम्रो चलेका अभिनेतामा पर्दछन् । जुन फिल्ममा उनी हिरो अवतारमा प्रस्तुत भए ती लगभग पत्तासाफ भएका छन् । दर्शक उनलाई हिरोइनसँग रोमान्स गरेको भन्दा 'टर्चर' दिएको हेर्न चाहन्छन् ।

राम्रो काम नभई पर्दामा नेगेटिभ भूमिकामा देखिँदा उनी सधै तारिफको पात्र बनेका छन् । 'कृ' मा त्यति धेरै प्रशंसाको पात्र बनेका अनुपले फागुन २५ गते प्रदर्शनमा आएको फिल्म 'हुर्रे' बाट तारिफको भर्‍याङ चढ्न पाएनन् । वर्ष २०७४ मा प्रदर्शनमा आएका उनी अभिनीत फिल्म 'रानी' पनि बक्सअफिसमा उठ्न नसक्ने गरि लडेको थियो ।

अब यस वर्षको अन्त्यमा प्रदीप खड्का स्टारर प्रतिक्षीत फिल्म 'लिलिबिली' प्रदर्शनमा आउँदैछ, जसमा फेरि अनुप भिलेनको भूमिकामा देखिँदैछन् । हिरो बन्दा चल्न नसकेका उनले अब दर्शकको रोजाई बुझ्न आवश्यक रहेको देखिन्छ ।