भद्रपुर/ पछिल्लो समय झापाका विभिन्न क्षेत्रवाट तस्करी भइरहेको छ । भद्रपुर छोटी भन्सारमा व्यापारीले सामान ल्याउन छाडेपछि भन्सार छलेर भारतवाट नेपाल र नेपालवाट भारत सामान तस्करी भइरहेको हो ।

झापाको दक्षिणी क्षेत्र भद्रपुर, पृथ्वीनगर, वनियानी, केचना लगायतका नाकाहरुवाट लागु औषध,सुर्ति,लत्ता कपडा नेपाल आइरहेको छ । भद्रपुरको नरसिहं चिया बगानसगै रहेको बक्सरभिट्टावाट दैनिक सुर्ति ,मोटर पार्टस ,लत्ता कपडा आइरहेको छ भने सोहि स्थानवाट नेपाल लिभरवाट उत्पादित सामग्रीहरु भारत तर्फ गइरहेको छ ।

भद्रपुरमा डिलर लिएर बसेको नेपाल लिभरले नेपालमा भन्दा भारतमा बढी सामग्री कुनै न कुनै माध्यामवाट पठाउने गरेको पाइएको छ । यो भन्दा अघि पनि नेपाल लिभरका सामान प्रहरीले बरामद गरिसकेको छ । त्यसैगरि झापामा तीन वटा सुर्तिजन्य उद्योग सञ्चालनमा आइरहेपनि भन्सारमा सुर्तिको राजश्व नकाटेका कारण सुर्ति भन्सार छलेर नेपाल आइरहेको पुष्टि हुन्छ ।

निधि, नाज र राजनिवास नाम गरेका गुटखा उत्पादन भइरहेका छन् । भद्रपुर छोटी भन्सार र काकडभिट्टाको मेची भन्सारमा सुर्ति नआएको प्रमुख भन्सार अधिकृत टेक बहादुर अर्यालले जनाए । त्यस्तै भारतको कादोगाउवाट नेपालको कचनकवल हुदै ब्राउन सुगर ल्याउने गिरोहले चन्द्रगढी ट्रेड युनियन चौक नजिकै कोठा भाडामा लिएर दैनिक ठुलो मात्रमा कारोबार गरिरहेको छ । सो स्थानमा विहान केहिसमय पसल खुल्ने र कारोवार भइसकेपछि बन्द हुने गरेको साधा पोशाकका प्रहरीलाइसमेत जानकारी रहेको छ ।

उता झापाको उत्तरी क्षेत्र काकडभिट्टा देखि एक किलोमीटर उत्तरवाट सुख्खा तथा काचो सुपारीको काम भइरहेको छ । झण्डै एक वर्षअघि झापामा भएको जग्गा काण्डका आरोपितहरुको समूहले सुपारीको कारोबार गर्दै आइरहेका छन् । भुपु र युवराज नाम गरेका व्यत्तिको नेतृत्वमा जुनसुकै बेला सुपारी भारत तर्फ तस्करी हुने गरेको पाइएको छ ।

सुचना संकलकको लागि भन्दै साधा पोशाकमा प्रहरी परिचालन गराएपनि उनिहरुले नै तस्करसग साँठगाँठ गरेर लाइन दिने काम गरिरहेको एक कारोबारीले आरोप लगाएका छन् । भद्रपुरका राजा, तुलाराम नाम गरेका कारोबारीले भद्रपुरस्थित बक्सरभिट्टा र इलामको पशुपतीनगरवाट भन्सार छलेर कपडाको काम गरिरहेका छन् । पशुपतीनगर नाकामा भारतको कस्टम नभएकाले व्यापारीक प्रयोजनका लागि नेपालमा सामान ल्याउन नपाइने नियम रहेपनि मिलोमतोमा दैनिक लाखौ मूल्य बरावरको सामान नेपाल भित्र्याइरहेका छन् ।

दुइमहिना अघि सोहि समुहको अन्दाजी एक करोड मूल्य बरावरको कपडा इलाका प्रहरी कार्यालय विर्तामोडले मध्यरातमा विर्तामोडमा तिनवटा गाडीसहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको थियो । घट्नापछि व्यापारीले करिब १५ लाख रुपैया बुझाइ गाडीसहित सामान छुटाएर ल्याएका थिए । ति व्यापारीले तत्कालका लागि पशुपतिनगर नाका बन्द गरेर भद्रपुरको छोटी भन्सारवाट काम गर्दै आइरहेको केहि दिनपछि पुनः काम सुरु भएको छ ।

भद्रपुरकै नाम चलेका व्यापारी सञ्जीवले झापा लगायत मोरङ्को रङगेली र सुनसरीको झुटहा नाकावाट भन्सार छलेर दैनिक लाखौ मूल्य बरावरको काम गरिरहेको पाइएको छ । भद्रपुरका व्यापारी मध्ये चर्चित सञ्जीवले अन्य कारोबारीलाई वास्ता नगरि आफनो एकलौटी राज चलाउदै कारोवार गर्दै आइरहेका छन् । भन्सार कर्मचारी,प्रहरी लगायतका निकायहरु उसको हित विपरित काम गर्न आँट गर्दैैनन ।

भन्सार सुनसान भएपछि जिल्ला प्रहरी कार्यालयको आदेशमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले सीमा क्षेत्रमा निगरानी बढाएको छ । वडाका इन्सपेक्टर प्रकाश जवेगूको नेतृत्वमा गएको गस्ती टोलीले दुइदिन अघि भद्रपुरको नरसिं चिया वगानवाट रातको समयमा नेपाल ल्याउदै गरेको अन्दाजी ५० हजार मूल्य बरावरको कपडा बरामद गरेको जनाएको छ । टोलीले गएराती सोहि नाकावाट भारत तर्फ लैजादै गरेको २३ हजार चार सय ७३ मूल्य बरावरको सामान बरामद गरिएको वडाका इन्सपेक्टर जवेगूले बताए ।

कर दाता नम्बर ६०२०३३३८५मा रहेको शंकर स्टोर भद्रपुरको विलवाट भद्रपुर ५ का सहनीको नाममा हाजमेला जार ८४ थानको १६ हजार ५सय ८४ र ४ हजार चार सय ६४ मूल्यको ४८ थान फेरनलब्ली पत्ताको विल समेत फेला पारिएको जवेगूले जनाए । बरामद सामानलाइ वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको उनको भनाइ छ । झापामा तस्करी भइरहेको बरामद सामानले प्रमाणीत गरेको छ ।

तस्करी भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले प्रहरीको सक्रियतामा सामान बरामद भइरहेको बताउछन् । प्रहरीको तस्करसँग मिलोमतो नभएको उनले दाबी गरे । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ सगै साधा पोशाकमा खटिए पनि सामान बरामद गरेको भने पाइदैन । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीलाई सक्रिय बनाइने आश्वाशस दिएका छन् । आफुले तत्काल सशस्त्रका एसपीलाई जानकारी गराउने उनले बताए ।