शनिश्चरे/नेपालका हाँस्यव्यंग्य कलाकारिताका हस्ति हरिवंश आचार्यको अगुवाई रहेको चलचित्र ‘शत्रुगते’ को बजार प्रवद्र्धनकै लागि फागुन २३ गते सुरु गरेको प्रचारात्मक यात्रा झापा आइपुगेको छ ।

चैत ९ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको शत्रुगतेको प्रमोसनको शिलशिलामा विर्तामोडपछि दमक आइपुगेका त्यसका मुख्य कलाकार हरिवंशले भने ‘हामी प्रचार प्रसारका लागि मात्र होइन, माया र सद्भाव साट्न आएका हौं ।’

दीपाश्री निरौलाको कुरामा कुरा थप्दै हरिवंशले भने– ‘निम्तो मात्र गर्न त यूट्यूव र फेसवुकबाटै हुन्थ्यो तर झापाका पत्रकारलाई शत्रुगते हेर्ने कार्ड सहित चुल्है निम्तो लिएर झापा आएका हौं ।’ त्यही क्रममा हरिवंशले नेपाली भाषा जोगाउन र यसको प्रवद्र्धनका लागि पनि नेपाली चलचित्रमाथिको अन्तरक्रिया आवश्यक रहेको कुरा राख्दै अन्तरक्रियात्मक रुपमा भेटघाटलाई अघि बढाए ।

हाँस्य व्यंग्य शैलीमा प्रस्तुत शत्रुगतेको बजार प्रवद्र्धनका लागि निर्माणपक्ष तथा कलाकारले पूर्वका बजारलाई प्राथमिकता दिएर प्रचारमा पत्रकार भेटघाट कार्यक्रममा सरिक भए ।

‘तँ त साह्रै बिग्रिस नि बद्री’ बनाएको १७ वर्ष चलचित्र क्षेत्रमा फर्किएको बताएका प्रस्तुतकर्ता किरण केसीले शत्रुगते नेपाली दर्शकहरुका लागि प्रतिक्षाको बिषय बनेको बताए । चलचित्रको कथा लेख्ने क्रममा हरिवंश र प्रदीप भट्टराईले गतेको नाम राख्ने सम्झिदै गर्दा प्रदीपले १७ गते राखौं भने । तर त्यसलाई कथामा सोचे अनुसार नभएर ग्रह दशा विग्रिएको अवस्थालाई सम्झिएर हरिवंशले झट्टै नयाँ रुपमा त्यसको तोडमोड गरेर जुराए ‘शत्रुगते’ । प्रदीप यसका निर्देशक समेत हुन् । निर्माण मह सञ्चारले गरेको हो ।

चलचित्रका नायक पल शाह, नायिका आँचल शर्मा, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरी पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला लगायतका कलाकारहरुले चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारलाई जोडिएको छ । चलचित्रका संगीतकार टंक बुढाथोकीले ‘रुपै मोहनी’ बोलका गीतले श्रोताको मन जितिसकेकाले चलचित्रलाई पनि दर्शकले मन पराउने दावी गरे ।

दमकको पाथीभरा चलचित्रका प्रवन्धक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले सबै किसिमका कलाकारहरुको कला यो चलचित्रमा समेटिएकोले चलचित्र पृथक भएको अपेक्षा गरिएको बताए । उनले हाँस्य कलाकारहरुको यो चलचित्रलाई दर्शकले रुचाउनेमा कुनै शंका नरहेको बताए ।