चौथो कार्यकालका लागि निर्वाचित भएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई दिएका छन् । ट्रम्पले पुटिनलाई टेलिफोन गरेर राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । यसबारे जानकारी दिँदै ट्रम्पले पुटिसँग चाँडै नै भेटवार्ता हुने पनि बताए ।

अमेरिका र रुसबिच हतियारको प्रतिस्पर्धा नियन्त्रण भन्दा बाहिर गएको तर आफूहरुसँग भएको जस्तो अवस्थामा कसैलाई आउन नदिने ट्रम्पको भनाई छ । अमेरिका र रुसबिच आपसकै सम्बन्ध तथा युक्रेन, सिरियासहितका मुद्दामा विवाद रहँदै आएको छ ।

यसैगरी सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी दखल र त्यसको फाइदा ट्रम्पलाई भएको भन्ने आरोपले पनि सम्बन्धमा प्रभाव पारेको छ ।

भ्लादिमिर पुटिन भ्लादिमिर पुटिन गएको २० वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्तामा छन् । तस्बिर स् गेट्टी इमेज आइतबार भएको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति पुटिन ठूलो मतान्तरले आउँदो ६ वर्षका लागि विजयी भएका हुन् । पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएर जितेका थिए ।

पुटिन राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि रुसको प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् । उनी सन् २०१२ मा ६४ प्रतिशत मत ल्याएर विजयी भएका थिए भने यसपटक ७६ प्रतिशत ल्याएका छन् । यसले पुटिन थप बलियो बनेको देखाएको छ ।