काठमाडौं/बेल्जियमस्थित युनिभर्सिटीमा कार्यरत नेपाली नागरिक नेहा श्रेष्ठको पिएचडी थेसिसलाई अन्तर्राष्ट्रिय फार्मासिटिकल टेक्नोलोजी संघ (एपिभि)ले फार्मेसी बिधामा २०१६-२०१७ को उत्कृष्ट पिएचडी थेसिसको अवार्ड प्रदान गरेको छ।

स्पेनको ग्रानाडा शहरमा जारी एक सम्मेलनमा उनलाई सो अवार्ड प्रदान गरिएको हो।

श्रेष्ठको पिएचडी थेसिस ‘मेसोपोरस् सिलिकन सिस्टम फर ओरल प्रोटिन-पेप्टाईड बेस्ड डाईबिटिज मेलाइटस् थेरापी’ शीर्षकमा रहेको छ। उक्त शोधले नानोटेक्नोलोजीको साहयताले डाईबिटिज रोगको औषधि रहेको ईनसुलिनलाई सुई मार्फत नभई चक्की वा क्याप्सुलको मार्फत सहज तरिकाले शरीरमा पुर्‍याउने प्रविधिको विकासमा मद्दत गर्छ।

श्रेष्ठले पिएचडी दौरान १५ वटाभन्दा बढी शोधपत्र विभिन्न प्रख्यात अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेकी छन्।

काठमाडौं युनिभर्सिटीबाट ब्याचेलर इन फार्मेसी र डेनमार्कको युनिभर्सिटी अफ कोपेनहेगनबाट मास्टर्स इन फार्मासिटिकल साइन्स गरेकी श्रेष्ठले २०१६ अप्रिलमा फिनल्यान्डको युनिभर्सिटी अफ हेल्सिन्कीबाट ‘पास विथ डिस्टिंसन्’ ग्रेड सहित पिएचडी पास गरेकी हुन्।

२०१७मा अति प्रतिस्पर्धातमक विश्व प्रसिद्ध मारि-क्यूरी फेलोसिप पाएकी नेहा श्रेष्ठ हाल बेल्जियमको युनिभर्सिटी काथोलिक दे लुभाँमा मारि-क्युरी पोस्टडक्टरल फेलोको रुपमा कार्यरत छिन्।

सेताेपाटी