काठमाडौं/ जनयुद्धमा होमिएका कतिपय नेताले अहिलेसम्म करिब आधा दर्जन पटक सत्ताको स्वाद पाइसकेका छन्। केही पूर्व लडाकु कमाण्डर मरुभूमिमा परिवार पाल्ने पैसा कमाउन पुगेका छन्। लडाकू कमाण्ड नन्दबहादुर पुन ‘पासाङ’ भर्खरै मात्र दोस्रो पटक उपराष्ट्रपति पदमा निर्वाचित भएका छन्। सुप्रिमि कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड‘ पूर्वप्रधानमन्त्री भइसकेका छन्। अहिले उनी शक्तिशाली सरकारको सारथि हुन्।

तर, रुढीवादको चर्को विरोध गर्दै जनयुद्धमा होमिएका केही कमाण्डरको रुपम देखेर भने जो कोही चकित पर्छ। सिरहा नगरपालिका १ लक्ष्मीनियाँका रामपरीक्षण साफी ‘पहाड’ अहिले पूरै जोगी अर्थात् ‘बाबा’को भेषमा देखिन्छन्। २०५३ सालमा सशस्त्र युद्धमा होमिएका रामरीक्षण २०५५ सालमा जनमुक्ति सेना भएका थिए। शान्ति सम्झौतापछि लडाकूका सात डिभिजन बने। त्यही डिभिजनमा साफीले भने सिन्धुलीको सोलुसल्लेरी स्मृति ब्रिगेडको प्लाटुन कमाण्डरको जिम्मेवारी पाएका थिए। तर, सेना समायोजनको बेला साफीले पाँच लाख लिएर स्वेच्छिक अवकास लिएका थिए।

उनी अहिले भने साधु अर्थात् बाबा भेषमा सार्वजनिक भएका हुन्। प्रचण्डसँग आक्रोश व्यक्त गर्दै आएका छन्। माओवादी छोडेर नयाँ शक्ति नेपाल गठन गरेका बाबुरामप्रति भने उनी सकारात्मक छन्। पूर्व माओवादी एवम् अहिलेकी नयाँ शक्तिकी नेतृ हिसिला यमीसँग भने उनले सुखदुःखका कुरा गरेका छन्। उनै पूर्व लडाकू एवम् अहिलेका बाबासँग यमीले खिँचेको तस्बिर यत्तिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।। यमीले साफीसँगको तस्बिर फेसबुकमा पोस्ट गरेपछि यसको चर्चा चुलिएको हो।

नयाँ शक्तिकी नेतृ यामीले उनीसँगको भेटमा दुवैजना भावुक भएको उल्लेख गरेकी छिन्। सँगै अहिले बाबा बनेका साफीलाई यामीले युद्धको समय र अहिले के फरक पाउँनुहुन्छ भनेर प्रश्न गर्दा जीवनका दुवै समय चुनौतीपूर्ण रहेको बताएका छन्।

अन्नपुर्णपाेष्ट