काठमाडौं/ प्रादेशिक सरकार सञ्चालनका लागि बाधा अड्काउ फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थाल्दैछन्।

प्रदेश सरकारका नीति तथा कार्यक्रम र कानुनी अड्चन फुकाउन भन्दै प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखहरूसँग बुधबार बिहान छलफल गर्न लागेका हुन्। बैठकमा सातै प्रदेशमा मुख्यमन्त्री, प्रमुखसचिव र महान्यायाधिवक्ता रहने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बस्नेछ। समृद्धिको खाका कोर्ने संघीय सरकारको उद्देश्य पूरा गर्ने उद्देश्यलाई सघाउने नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई निर्देशन दिने रिमालले बताए।

यसैबीच प्रदेशसभाका सभामुखहरूले संसदीय अभ्यास बुझेका अनुभवी कर्मचारी पठाइदिन प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका छन्। राष्ट्रपत्उिपराष्ट्रपति निर्वाचनका क्रममा काठमाडौं आएका उनीहरूले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मचारी पठाइदिन प्रधानमन्त्रीसँग माग गरेका हुन्।