काठमाडौं/ श्रम तथा रोजगार मन्त्रालयले बुटवल, जनकपुर र इटहरीमा वैदेशिक रोजगारीको श्रम स्वीकृति लिने कार्यालय खोल्ने निर्णय गरेको छ ।

श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भए लगत्तै गोकर्ण बिष्टले तराईमा पनि श्रम स्वीकृति दिने गरी कार्यालय खोल्ने बताएका थिए ।

‘बढी कामदार विदेश जाने क्षेत्रमै कार्यालय खोल्न लागेका हौं,’ उनले भने ‘पूर्वमा इटहरी, दुई नम्बर प्रदेशमा जनकपुर र पश्चिमको बुटवलमा कार्यालय खोलेर श्रम स्वीकृति दिन केही समयभित्रै सुरु गर्नेछ ।’

‘अहिलेको कानुनी व्यवस्थाअनुसार कुन कुन प्रकारको श्रम स्वीकृति दिन मिल्छ, त्यसैअनुसार सेवा दिन्छौं,’ बिष्टले भने ।

रि-इन्टि्रको लागि यो व्यवस्था तत्काल लागू हुनेछ । संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिको विषयबारे पनि छिट्टै टुंगो लाग्ने बिष्टको भनाइ छ ।

अहिले काठमाडौंको ताहचलस्थित कार्यालयबाट मात्रै श्रम स्वीकति दिने गरिएको छ । दैनिक १५ सयले विभागबाट विदेश जाने स्वीकृति पाउँछन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जनकपुरमा विभागको कार्यालय खोल्ने निर्णय गरेका थिए । तर, कर्मचारीले अनेक समस्या देखाएपछि कार्यान्वयन भने भएन ।

कामदार काठमाडौं नै आउँदा उनीहरुबाट अनुचित लाभ लिइरहेका विभागका कर्मचारीले ‘कमाइको बाटो’ काठमाडौं बाहिर जान दिएका थिएनन् ।

विभागमा हुने भिडभाडलाई मौका बनाएर आर्थिक चलखेल हुने गरेको छ । त्यसलाई रोक्न र कामदारको सास्ती घटाउन पनि उपत्यकाबाहिर श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको हो ।

‘आधा मात्रै कामदारले बाहरिबाटै स्वीकृति पाए भने ताहचलमा केही सुधार हुन्छ । कामदारको सास्ती पनि कम हुन्छ,’ बिष्टले भने ।

साभारःअनलाइनखबर