विराटनगर/ संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कार्मचारीलाई आउँदो आइतबारदेखि बर्खास्त गर्ने बताएका छन् ।

सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई निजमति ऐन अनुसार कारबाही गरी वर्खास्त गर्ने चेतावनी दिएका हुन् ।

विराटनगर विमानस्थलमा वुधबार विहान सञ्चारकर्मीसंग मन्त्री पण्डितले भने ‘कर्मचारीलाई सेवा गर्नका लागि जहाँ तोकिएको छ त्यहा सेवा गर्नैपर्छ, नगर्नेहरु कारबाहीमा पर्छन् ।’

उनले कारबाहीको प्रक्रिया आगामी आइतबारदेखि सुरु गरिने पनि जानकारी दिए ।

उनले सरकारको तथ्याङ्क अनुसार अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र सरकारले तोकेको कार्य क्षेत्रमा हाजिर भएको बताए ।

संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाशमार्फत सक्षम जनशक्तिलाई विदा दिने पक्षमा सरकार नभएको पण्डितले बताए ।

नयाँ कार्यक्षेत्रमा खटाएको कर्मचारीलाई पहिला काम गरिरहेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागीदार हुने चेतावनी दिए ।

एक प्रश्नमा मन्त्री पण्डित अघिल्लो सरकारले गरेका कतिपय निर्णय आवेगपूर्ण र कानुन विपरीत भएकाले त्यस्ता निर्णय खारेज हुने बताए ।

उनले संघीयता स्थापित हुने क्रममा रहेकाले अब संघीयता खारेज हुने संभावना अन्त्य भइसेकेको जिकिर गरे ।

अनलाइनखबरबाट