शनिश्चरे/ मोरङको सुन्दरहरैंचा ५ का एक व्यवसायीले घरभाडा र सापटी रकम गरी ६ लाख रुपैयाँ नबुझाई सम्पर्कविहीन भएपछि पथरीशनिश्चरेमा रहेको उनको पसल घरधनीले नियन्त्रणमा लिएका छन् ।

व्यवसायी विष्णुप्रसाद पोखरेलले ०७३ साउनदेखि पथरीशनिश्चरे १ का पदमबहादुर श्रेष्ठको घरमा मेसिनरी पसल सहितका लागि मासिक २५ हजारले फ्लाट भाडामा लिएका लिएका थिए । त्यसबीचमा २ लाख रुपैयाँ सापटी लगेको र ०७४ मंसिर १८ गतेसम्मको ४ लाख रुपैयाँ घरभाडा समेत नतिरेको तथा पटक पटक भाखा सारेर पसल वन्द गरेर सम्पर्कविहीन भएको उल्लेख छ ।

सो कुरा नगरपालिका कार्यालयमा समेत उजुरी परेको थियो । नगरपालिकाको न्यायिक समितिसँग पनि पोखरेलले कागज गरेपनि पुन सम्पर्क विहीन भइरहेपछि समितिले ७ दिने सूचना प्रकाशित गर्दा पनि उनी सम्पर्कमा आएनन् । त्यसपछि न्यायिक समिति सहितको रोहवरमा आफुले पसल नियन्त्रणमा लिनुपरेको घरधनी श्रेष्ठले वताउनु भएको छ ।

पथरी उद्योग वाणिज्य संघ, छरछिमेकी, समाजसेवीहरुको रोहवरमा ३ वटा सर्टरमा भएका सामान एउटैमा राखी ३५ दिनपछि सामान वेचविखन गरी त्यसैबाट आफ्नो रकम असुल्ने न्यायिक समितिले सुझाव दिएको छ ।