मोरङ/ मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका सदस्यहरुको संघर्ष समितिले प्रदेशसभाबाट सेवा सुविधा सम्वन्धी आफ्ना माग सुनुवाई नभएर आ आफ्ना नगर र गाउँपालिकाको परिषद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

पथरीशनिश्चरे र कानेपोखरी सम्मिलित वडा सदस्यहरुको हकहित सम्वन्धी संघर्ष समितिको पछिल्लो वैठकले बुधवार प्रदेश र केन्द्र सरकारलाई आफ्ना मागप्रति ध्यानाकर्ष गराएका छन् ।

अवको वजेट अधिवेशन अगावै आफुहरुको सेवा सुविधाको निर्णय गर्नुपर्ने संघर्ष समिति संयोजक दुर्गाप्रसाद सिटौलाले जनाए । घर घरमा गएर विभिन्न काममा खटिनुपर्ने भएकाले वडाध्यक्षमा तोकिन लागेको जस्तै आफुहरुले पनि सेवा सुविधा पाउने कुराको सुनिश्चितता नभए सम्बन्धित पालिकाको परिषद वैठक रोक्ने निर्णय भएको उनले सुनाए ।

यसका साथै प्रत्येक आर्थिक वर्षको ६ महिनाको प्रगति मुल्याङ्कन तथा आगामी ६ महिनाको लागि कार्यदिशाका लागि माघ भित्रै परिषद वैठक गर्नुपर्नेमा त्यसो नभएकोप्रति आपत्ति जनाइएको छ । ७ दिन अगावै परिषद वैठकको सूचनाको प्रावधानलाई पनि लागू गर्न समितिले माग गरेको छ ।

आफुहरुलाई पनि सेवा सुविधा आवश्यक रहेको भन्दै सदस्यहरुको १ नम्वर प्रदेशस्तरीय संघर्ष समिति निर्माण गरी संघर्षका गतिविधि अघि बढेका छन् ।