बिर्तामोड । यमन स्टुडियो प्रालिले सोमबार बिर्तामोडमा गीता बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘सुरुवात’ एल्बम विमोचन गरेको छ । चारवटा गीत रहेको उक्त एल्बममा ‘तिम्रो नियत मै खोट रैछ’, ‘परदेशबाट आएपछि’, ‘ओए काली ओए काली’ गरी तीनवटा गीतमा गीताको एकल स्वर रहेको छ । ‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा तारावीर पाण्डेसँग गीताले आवाज भरेकी छन् । एल्वम विमोचन कार्यक्रममा संगीतकार शिवशंकर थापा, साहित्यकार देबीभक्त श्रेष्ठ, यमन स्टुडियोका प्रमुख यमन पाण्डे, साहित्यकार विवश बलभद्र कोइराला, टंक बिकल्प, लीला अनमोललगायतका साहित्यकार, गायक, संगीतकार तथा पत्रकारहरुको उपस्थिति थियो ।

झापाको अर्जुनधारा १ निवासी गायिका बस्नेतको सबै गीत उत्कृष्ट रहेको तथा एकल लगानीमा निर्माण भएको हुनाले यस्ता साहित्य सिर्जनालाई राज्यले सम्मान गर्नु जरुरी रहेको संगीतकार थापाले बताए । चारमध्ये तिम्रो नियतमै खोट रैछ बोलको गितको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा मधु न्यौपाने, कृतिका दहाल र मिलि आङदाम्बेले अभिनय गरेका छन् । झापाका पर्यटकीय क्षेत्रमा छायाङकन गरिएको म्युजिक भिडियो पनि सार्वजनिक भएको हो । त्रिपक्षीय प्रेम कथामा आधारित म्युजिक भिडियोले धेरै दर्शकको मन जित्ने बिश्वास लिएको निर्माता । म्युजिक भिडियोमा क्यामेरा तिलक रिजाल, निर्देशक ज्ञानेन्द्र कोइराला, मेक अप सोम मङग्रातीको रहेको छ । कार्यक्रममा संगीतकार थापा र पूर्वाञ्चल आइडल प्रेम आङ्देम्बेलाई नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो । गायिका बस्नेतको पहिलो तथा उत्कृष्ट गीत रहेको भन्दै सांगीतिककर्मीले उनलाई हौसला तथा सम्मान गरेका छन् ।