बिर्तामोड । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले झापादेखि पश्चिम धनगढीसम्म फिल्म निर्माण सम्बन्धि एकहप्ते तालिम दिने भएको छ ।

एकेडेमीले फिल्म निर्माण सम्बन्धि शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म निर्माता तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने उदेश्यले पूर्वमा झापादेखि तालिम शुरु गरेको हो ।

अहिलेसम्म उपत्यका बाहिर  फिल्म सम्बन्धि शैक्षिक कार्यक्रम तथा वर्कशप जान नसकेको भन्दै यो कार्यक्रम प्रत्येक जिल्लामा सञ्चालन गर्ने एकेडेमी समुहले जनाएको छ ।

बिर्तामोड, इटहरी, दाङ, हेटौडा, नारायाणघाट, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा  साउन २७ देखि असोज १८ गतेसम्म फिल्म निर्माण सम्बन्धि वर्कशप सञ्चालन गरिने एकेडेमीका कार्यकारी प्रमुख प्रकाश पुरीले जानकारी दिए ।

उपत्यकामा दिनको ३ घण्टाले एक महिना सञ्चालन गरिने कोर्ष ६ दिनमा दिनको ७ घण्टाका दरले सञ्चालन गरिने पुरीले बताए । उनले बिद्यार्थीबाट ६ दिनको १० हजार शुल्क लिइने जानकारी दिए । शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि विहान १० बजेदेखि बेलुका ५ बजेसम्म कक्षा सञ्चालन गरिने एकेडेमीका अध्यक्ष तथा फिल्म निर्माता छविराज ओझाले बताए । फिल्म निर्माण सम्बन्धि चासो भएका जो कोहीले वर्कशपमा सहभागी हुन पाउने उनले बताए । तालिमका लागि झापामा २० जना बिद्यार्थी तयार रहेको एकेडेमी समुहले जनाएको छ ।  कार्यक्रमको सञ्चालन सुरज प्रधानले गरेका थिए ।