जिरोपोइन्ट /  धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा गत वर्षबाट शुरु भएको मेयरकप स्कुल ओलम्पिकको दोस्रो संस्करण ‘मेयरकप स्कुल ओलम्पिक २०७५’ मङ्सिर ५ गतेदेखि १७ गतेसम्म हुने भएको छ । विद्यालयस्तरबाट विद्यार्थीलाई विभिन्न खेलकुदमा सहभागी हुने अवसर प्रदान विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ दोस्रो संस्करणको तयारी थालिएको मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । गत वर्ष फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, बुद्धिचाल, कराँते, तेक्वान्डो, क्रिकेट, एथ्लेटिक्स गरी १० वटा खेल भएको मेयरकपमा यस वर्ष कबड्डी र सेपाक टेक्रो (किक भलिबल) खेल थप गरी जम्मा १२ वटा खेलहरू रहनेछन् । एथ्लेटिक्सअन्तर्गत ज्याभलिन थ्रो, दौड, हाईजम्प, लङजम्प र सटफुटजस्ता खेलहरू हुनेछन् । कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउने यस ओलम्पिकमा तेक्वान्डो र कराँते विधामा तौलका आधारमा खेल खेलाइनेछ । टेबल टेनिस उमेरको आधारमा खेलाइने, ब्याडमिन्टनमा ५ देखि ७ र ८ देखि १० कक्षाका आधारमा खेलाइने र अन्य खेल खुला रूपमा खेलाइने बताइएको छ । हालसम्म सामुदायिक १३ र संस्थागत ४१ गरी ५४ वटा विद्यालयले नाम दर्ता गराएका छन् । यस वर्षको ओलम्पिकमा जम्मा ७३ स्वर्ण पदक, ७३ कास्य पदक र १२४ रजत पदक राखिएको खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले बताए । विद्यालयस्तरीय मेयरकप ओलम्पिक खेलमा विजेता खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सबैभन्दा बढी स्वर्ण पदक जित्न सफल विद्यालयलाई प्रथम घोषणा गरी करसहित नगद १ लाख २० हजार, दोस्रो हुने विद्यालयलाई नगद ८० हजार र तेस्रो हुने विद्यालयलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । गत वर्षको तुलनामा यस वर्ष नगद पुरस्कारमा वृद्धि गरिएको छ । यस प्रतियोगिता कुल खर्च १९ लाख २३ हजारको हाराहारीमा छ । जसका लागि उपमहानगरपालिकाबाट १८ लाख रुपैयाँ विनियोजन भएको छ । विद्यालयको दर्ता शुल्कबाट १ लाख २३ हजार रकम सङ्कलन हुने अनुमान आयोजकले गरेको छ । ओलम्पिकमा नाम दर्ता गर्नका लागि यस वर्ष निजी विद्यालयलाई ३ हजार ५ सय र सामुदायिक विद्यालयलाई २ हजार शुल्क तोकिएको छ । ओलम्पिकको उद्घाटन मङ्सिर ५ गते दिउँसो १ बजे धरान रङ्गशाला धरान–१६ मा हुनेछ । समापन मङ्सिर १७ गते सोही स्थानमा हुनेछ ।