यासोक/ दीपावलीको अवसरमा पाँचथर फाल्गुनन्द गाउँपालिकाको बसाँगुमा आयोजित भलिबल प्रतियोगिताको उपाधि कुम्मायक स्पोर्टिङ क्लबले जितेको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लबलाई हराउँदै कुम्मायकले उपाधि जितेको हो । उपाधि जितेको कुम्मायकले नगद ५० हजार ५ सय ५ रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता त्रिवेणीले ३० हजार ५ सय ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ । व्यक्तिगततर्फ उत्कृष्ट स्पाइकर कुम्मायकका कृष्ण तामाङ, बेष्ट सेटर त्रिवेणीका पदम भट्टराई, बेष्ट अलराउण्डर कुम्मायकका नवीन रिजाल घोषित हुँदै ट्रफी पाए ।

प्रतियोगितामा पाँचथर र इलाम गरी १६ टिम सहभागी थिए ।

फाल्गुनन्द गाउँपालिका–६ र ७ को सङ्गम स्थल बसाँगुमा कात्तिक २३ गतेबाट द्वितीया मेला सञ्चालन भएको थियो ।

मेलामा लिम्बू समुदायको केलाङ (ढोलनाच), धान नाच म्युजिकल चियरसमेत प्रदर्शन भएको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष दिपेन्द्र कुरुम्बाङले बताए ।