पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका मातहतको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्षका लागि हाल ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ ।   समितिका अध्यक्ष मणि सुब्बाको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले मंसिर १४ गते वडा नम्बर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाए । त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्बर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्बरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ । बाँकी रहेका १, ३, ५, ९ र १० नम्बर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले उल्लेख गरे । नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।