काठमाडौँ/ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएका दुई खेलमा थ्रीस्टार विजयी हुँदा विभागी टोली पुलिसले भने अङ्क बाँडेको छ । 

एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका छन् । 

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपनि पुलिसले गोल गर्न सकेन । खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विकास राई घोषित हुँदै रु १० हजार प्राप्त गरे । यो बराबरीसँगै पुलिसले २ खेलबाट ४ अङ्क जोडेको छ । पहिलो खेलमा पुलिसले जावलाखेललाई पराजित गरेको थियो । 

लिगमा मछिन्द्रको यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो । मछिन्द्रले २ खेलबाट २ अङ्क जोडेको छ । 

यसैगरी आजै भएको दोस्रो खेलमा ललितपुरे क्लब थ्री स्टार क्लबले लगातार दोस्रोमा जित निकालेको छ । आज ब्रिगेड ब्वाईजलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै थ्री स्टारले जारी लिगमा लगातार दोस्रो जित निकालेको हो । 

थ्री स्टारको जितमा रजिन धिमाल, सुनिल बल, रन्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम लामाले एक एक गोल गरे । ब्रिगेडका रजत तिवारीले एक गोल फर्काए । 

खेलको नवौं मिनेटमा रजिनले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । ब्रिगेड ब्वाईजका खेलाडीले निराजन खड्कालाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा रजिनले गोल गरेका हुन् । यस्तै खेलको ५२औँ मिनेटमा सुनिलले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए । तर, ७४ औँ मिनेटमा रजतले गोल गर्दै ब्रिगेड ब्वाईजलाई २–१ को स्थितिमा ल्याए । 

खेलको ८५ औं मिनेटमा रन्जनले गोल गर्दै थ्री स्टारलाई ३–१ को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा निराजनले गोल गर्दै थ्री स्टारको अग्रता ४–१ को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान विक्रमले गोल गर्दै थ्री स्टारलाई ५–१ को जित दिलाए । कप्तान विक्रम करिब आठ महिनापछि खेलमा फर्किएका हुन् । खेलमा म्यान अफ दि म्याच थ्री स्टारका सुनिल बल घोषित हुँदै रु १० हजा प्राप्त गरे । 

जितसँगै थ्री स्टार लिगको शीर्ष स्थानमा उक्लिएको छ । थ्री स्टारले २ खेलबाट ६ अङ्क जोडेको छ । थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हात परेको हो । यसअघि पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो । 

सोमबार लिगका तीनवटा खेलहरु हुँदैछन् । जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्सडस क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ । सोही दिन सरस्वती क्लब र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल हुनेछ ।