भद्रपुर । सीमसार र शहीद पार्क बनाउने भन्दै उत्खनन् गरेको सामग्री बाहिर बिक्री वितरण गरिरहेको खुलेको छ । झापाको भद्रपुर नगरपालिका र हल्दीबारी गाउँपालिकाको सिमानामा रहेको देउनिया खोलाआसपासमा रहेको क्षेत्रबाट स्काभेटर प्रयोग गरी टिपरमार्फत् सामग्री निकासी गरिएको पाइएको छ । यो क्षेत्र भेलागढी सामुदायिक वनमा पर्दछ ।

साविक हल्दीबारी गाविस ३ हाल सोही गाउँपालिका २ मा रहेको लगभग ६ बिघा क्षेत्रमा फैलिएको जग्गाबाट वन समितिले ५ लाख रुपैयाँमा सम्झौता गरी गिटी बालुवालगायतको सामग्री बिक्री गरिरहेको छ । सीमसार क्षेत्रबाट उत्खनन् गरिएका सामग्री सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने नियम छ ।

तर नियमलाइ मिचेर केही टाठाबाठाले रकम लिँदै त्यस्तो हर्कत गरिरहेको स्थानीयले आपत्ति जनाएका छन् । स्काभेटर प्रयोग गरेर धमाधम सामग्री निकासी भइरहेपनि सम्बन्धित निकायको ध्यान नजानु आर्थिक साँठगाँठ हुनसक्ने केही स्थानीयले आरोप लगाएका छन् । हालसम्म सो स्थानमा तटवन्धनसहित अनुमानित १७ लाख रुपैया खर्च भइसकेको बुझिएको छ ।

सिमसारमा खर्च भएको ५ लाख रुपैया हल्दीबारी गाउँपालिकाले नदिएपछि लागेको ऋण तिर्न सामग्री बेच्नु परेको वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुइटेल बताउँछन् । यस विषयमा कुनै जानकारी नआएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् ।