धरान / कतारमा कार्यरत नेपालीबासीले मृगौला पीडित धरानका पत्रकार तथा रङ्गकर्मी प्रवीण राईलाई आर्थिक सहयोग गरेको छ । राईलाई कतारमा कार्यरत नेपालीहरूको संस्था नवोदिन साहित्यिक वाचानालय र अन्तर्राष्ट्रिय साहित्यिक समाज कतार च्याप्टरले संयुक्त रूपमा सङ्कलन ३२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सङ्कलित रकम अन्तर्राष्ट्रिय साहित्यिक समाज कतार च्याप्टरका द्वितीय उपाध्यक्ष मणी पौडेलले पत्रकार राईलाई उनको निवास धरान–९ बगैचालाइन पुगेर हस्तान्तरण गरे ।

यस्तै एकहप्ते एक्सन टाइम्स साप्ताहिक धरानले पनि नगद ३ हजार सहयोग गरेको छ । साप्ताहिककी प्रबन्धक तथा संचालक सिर्जना नेपालले सो रकम हस्तान्तरण गरेकी छन् । पत्रकार राई लामो समयसम्म कतारमा कार्यरत रहेका थिए । नवोदित साहित्यक वाचानालय संस्था गठन गर्नेमध्येका उनी पनि एक हुन् । राई केही समययता दुवै मृगौला फेल खराब भई डायलसिस गराउँदै आएका छन् ।